Logo

घरजग्गा कारोबारमा १४ प्रतिशतले बढ्यो राजस्व

काठमाडौं– चालु आर्थिक वर्षको आधा समय (साउन–पुस) बित्दा घरजग्गाको कारोबारबाट प्राप्त हुने राजस्व १४ प्रतिशतले बढेको छ । यो अवधिमा जग्गा कारोबारको लिखत संख्या भने ४ हजारले घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुससम्ममा घरजग्गा कारोबारबाट देशभर गरी २० अर्ब ८२ करोड राजस्व उठेको छ । यो गत वर्षको तुलनामा २ अर्ब ५७ करोड अर्थात् १४ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा १८ अर्ब २५ करोड रुपैयाँ राजस्व उठेको थियो ।

विभागका अनुसार यो पुससम्ममा घरजग्गा कारोबारमा ७ लाख ७ हजार लिखत पास भएका छन् । गत वर्ष पुससम्ममा ७ लाख ११ हजार लिखत पास भएका थिए । यो वर्ष लिखत पास भएको कारोबार संख्या ४ हजारले घटेको हो ।

साँखु मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमारबहादुर खड्काका अनुसार यो वर्ष काठमाडांै उपत्यकामा जग्गाको न्यूनतम मूल्यांकन १० देखि १५ प्रतिशत बढाइएको थियो । घरजग्गा कारोबार संख्यामा कमी आए पनि मूल्यांकन बढाइएकाले राजस्व बढी उठेको हुन सक्ने उनले बताए । उनका अनुसार महँगा घरजग्गाको कारोबार भएर पनि राजस्व धेरै संकलन भएको हुन सक्छ ।

चालु आवको ६ महिनाको तथ्यांकले घरजग्गा कारोबार यो वर्ष पनि सन्तोषजनक रुपले बढ्ने देखिएको छैन । जग्गा कारोबारमा देखिएको मन्दीलाई बिर्साउने गरी यो वर्ष कारोबार चलायमान हुने सबैको अनुमान थियो । तर, ६ महिनाको तथ्यांकले कारोबार सामान्यमात्र बढ्ने देखाएको हो । पछिल्ला केही वर्षदेखि घरजग्गा कारोबारमा मन्दी आउँदा समग्र आर्थिक क्रियाकलापमा नै असर पारेको छ ।

विभागका अनुसार चालु आवको साउनमा १ लाख १९ हजार ३२४ वटा घरजग्गाको लिखत पास हुँदा २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो संख्या भदौमा सामान्य वृद्धि भएको देखिन्छ । भदौमा १ लाख २० हजार ३८१ वटा घरजग्गा लिखत पास भएका थिए । यसबाट ३ अर्ब ४ करोड राजस्व पुगेको छ ।
यस्तै, असोजमा एक लाख ४० हजार संख्यामा लिखत पास हुँदा ४ अर्ब ८ करोड राजस्व संकलन भएको थियो । कात्तिकमा ७७ हजार कारोबार हुँदा २ अर्ब १६ करोड राजस्व उठेको थियो । मंसिरमा १ लाख २७ हजार लिखत पास हुँदा २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । पुसमा १ लाख ४० हजार वटा लिखत कारोबार हुँदा ४ अर्ब २५ करोड राजस्व असुली भएको हो ।

विगतमा उच्च रुपमा कारोबार बढ्दै आएकामा सरकारले २०७६ सालमा भू–उपयोग ऐन र २०७९ मा भू–उपयोग नियमावली जारी गरी जग्गा वर्गीकरण गर्ने र कित्ताकाट रोक्ने नीति ल्याएपछि घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । यसबीचमा आएको कोरोना महामारीले घरजग्गा कारोबारमा झनै गिरावट ल्याएको थियो । घरजग्गा कारोबारमा मन्दी आउँदा यसको सिधा असर अर्थतन्त्रमा परेको छ । अहिले अर्थतन्त्र सुस्त हुनुको एउटा प्रमुख कारणमध्ये घरजग्गा कारोबारमा आएको मन्दी पनि हो । दुई दशकभन्दा धेरै समयदेखि घरजग्गा कारोबारमा व्यावसायिक रुपमा लगानी भइरहेको थियो । खासमा घरजग्गा किनबेच आवास वा उद्योगका लागि हुनुपर्ने हो । तर, उच्च प्रतिफलको आशामा व्यावसायिक रुपमा लगानी गर्दा समस्या देखिएका हुन् ।

जग्गाको कित्ताकाटका कारण यसको कारोबारमा मन्दी आएको भनिएपछि सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो । स्थानीय तहले जग्गाको वर्गीकरण गरिरहेका बेला सरकारले कित्ताकाट खुला गरेको हो ।

सरकारले कित्ताकाट खुला गरेपछि व्यवसायीले सरकारको निर्णयको स्वागत गर्दै आर्थिक क्रियाकलाप बढ्ने प्रतिक्रिया दिएका थिए । कित्ताकाट खुलेपछि अंशबण्डा, मोही बाँडफाँड, सार्वजनिक बाटो र सरकारी जग्गा कित्ताकाट गर्न सजिलो भएको छ । तर, घरजग्गाको कारोबार संख्या र राजस्व दुवै देखिने गरी बढ्न सकेको छैन । चालु आवमा भएको १४ प्रतिशतको राजस्व वृद्धिलाई सामान्य मान्न नसकिए पनि यो आशा गरिए जति भने होइन ।

घरजग्गा कारोबारमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ । बैंकिङ क्षेत्रबाट पनि यो क्षेत्रमा पर्याप्त कर्जा प्रवाह भएको छ । यही क्षेत्रमा किनबेच बढ्न नसक्दा सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्