Logo

भारतीय शहरमा पुग्छ बाराको माछा

बारा– नेपाली बजारमा रुचाइएको बाराको माछा विदेशी शहरमा समेत निर्यात हुन थालेको छ । बाराबाट दैनिक एक हजारदेखि १५ सय टन माछा बिहारको पटना, मोतीहारी, मुजफ्फरपुर शहरमा निर्यात हुने गरेको छ ।

बाराको तीन हजार आठ सय हेक्टर जमिनमा खनिएका ७ हजार पोखरीबाट दैनिक करिब ३३ सय टन माछा उत्पादन हुने जिउँदो माछा व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष जंगबहादुर साहका अनुसार चिसो पानीमा पालिएको नेपाली जिउँदो माछा स्वादिलो हुने भएकाले भारतीय उपभोक्ताले रुचाएका छन् । यसले गर्दा नेपाली माछाले भारतमा बजार पाएको उनले बताए । भारतका व्यापारीहरुले पोखरीमै आएर माछा लैजाने गरेका छन् । भारतीय व्यापारीले नेपाली बजारभन्दा प्रतिकिलो ५० रुपैयाँ बढी मूल्य दिइरहेका छन् । ‘हाम्रो उत्पादन केही बढी मूल्यमा विदेश जान थालेको छ । हामी उत्साहित छौं,’ अध्यक्ष साहले भने, ‘यहाँको माछा बिहारका व्यापारीहरुले चिसो पानीको माछा भनेर ब्रान्डिङ गर्दै बेच्ने गरेका छन् । निर्यात बढ्दै जानेमा हामी ढुक्क छौं ।’

मधेश प्रदेशमा माछा जोनको रुपमा चिनिएका बाराको कोहल्बी, सिम्रौणगढ लगायतका स्थानमा करिब ४ हजार ८ सय घरधुरी माछापालनमा प्रत्यक्ष सहभागी छन् । अन्य व्यवसायभन्दा कम जोखिम हुने, लगानी कम भए पुग्ने, बढी आम्दानी हुने र नगद तुरुन्तै हात पर्ने भएकाले माछापालनमा आकर्षण बढेको हो ।

माछाको दाना उत्पादन गर्ने उद्योग नेपालमा कम भएकाले दाना नै प्रमुख समस्या रहेको कृषक मानबहादुर खत्रीले बताए । ‘पोषणयुक्त दाना सहजै नपाउँदा वार्षिक चार पटक उत्पादन हुने माछा तीन पटकमात्र हुने गरेको छ । उत्पादित माछा पनि कम तौलको हुन्छ । नेपाली बजारमा माछाको साइजअनुसार मूल्य हुन्छ तर भारतीय व्यापारीले सबै साइजका माछा एउटै मूल्यमा लैजाने गरेका छन्,’ उनले भने ।

पोखरीबाट ल्याउँदै गरेको जिउँदै माछामा भारतीय उपभोक्तको रुचि बढेपछि नेपाली माछाले सीमावर्ति शहरमा सहज प्रवेश पाएको हो । तीन वर्षदेखि भारतीय बजारमा नेपाली माछा पुग्न थालेको भए पनि आफूहरुले गत वर्ष यसबारे अध्ययन गरेको अध्यक्ष साहले बताए । ‘नेपाली माछाको फरक स्वाद र ताजा हुने भएकाले त्यहाँका उपभोक्ताले रुचाएको हामीले पाएका छौं,’ उनले भने ।

विशेषगरी बारामा उत्पादित रहु, कार्प, टिलापिया, पंगासिस जातका माछा भारतमा बढी रुचाइने गरेको अर्का कृषक मधुसुदन अधिकारीले बताए । ‘माछाको साइजअनुसार नेपाली बजारमा २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुन्छ । भारतीय व्यापारीले भने सबैखाले माछा चार सयसम्म एउटै दरमा लैजाने गरेका छन्,’ उनले भने ।

माछा लिन नेपाल आउने गरेका भारत मुजफ्फरपुरका व्यापारी रामेश्वर यादवले नेपाली ताजा माछाको माग आफ्नो शहरमा बढ्दै गएको बताए । माछा लैजाँदै गर्दा सीमामा नेपाल प्रहरीले क्वारेन्टाइन लगायतका विभिन्न बहानामा दुःख दिने गरेको गुनासो गरे ।

माछाको व्यावसायिक खेती मुलुकमै मधेश प्रदेशमा उच्च स्थानमा पुगेको छ । केही समयअघि सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालको कुल खपतको ८१ प्रतिशत माछा देशमै उत्पादन हुने गरेको छ । बाँकी १९ प्रतिशत भारतलगायत देशबाट विभिन्न नाका हुँदै आयात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्