Logo

होटल संघ नेपालले मनायो सत्कार दिवस

काठमाडौं– होटल संघ नेपाल (हान) ले स्थापना दिवसको अवसर पारेर नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने हानका अध्यक्ष विनायक शाहले बताए ।

अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौती र भावी दिनको योजना तथा कार्यक्रम प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने समृृद्धिको लेखाजोखा हुने बताए । उनले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको, १ लाख १६ हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको बताए ।

त्यसैगरी नेपालमा रेस्टुरेन्टले २२ लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको भन्दै उनले तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवद्र्धक आपूर्तिको स्थिति इंगित गरेको दावी गरे ।

अध्यक्ष शाहले विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको बताए । गत वर्ष भएका हवाई तथा सडक दुर्घटनाका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकाले समस्या झन् बढेको अध्यक्ष शाहले बताए ।

संस्कृति पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालालाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तु यकीन हुने कार्यक्रम ज्यादै महत्त्वपूर्ण रहेको भन्दै सराहना गरे ।

उनले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आएको पनि बताए ।

कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो । उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवर्द्धनमा सघाउ पुर्‍याउने मुर्धन्य सेफहरूलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पुर्‍याउने विभिन्न प्रायोजकहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्