आर्थिक समृद्धिका लागि घिमिरेको उम्मेदवारी

झापा-राष्ट्रियसभाका लागि प्रदेश–१ का उम्मेद्वार राजेन्द्र घिमिरेले जनप्रतिनिधि सार्वजनिक व्यक्ति भएकाले विवेक पु-याएर मतदान गर्न आग्रह गरे । प्रदेश –१का लागि खुल्लातर्फका उम्मेद्वार घिमिरेले बिर्तामोडस्थित होटल हेवनमा पत्रकार भेटघाटमा देशमा स्थायी शान्ति कायम गर्न र आर्थिक-सामाजिक समृद्धिका लागि सहअस्तित्व र सहकार्य अत्यावश्यक रहेकाले विवेक पु-याएर सक्षम व्यक्तिलाई मतदान गर्न आहवान गरेका हुन् ।
“प्रतिनिधिसभा र राष्ट्रियसभामा सरकार र प्रतिपक्षबीच विवादमात्रै देखिएको छ”, नेपाली कांग्रेसका तर्फबाट प्रदेश–१ अन्तर्गत खुल्लातर्फका उम्मेद्वार घिमिरेले भने, “राष्ट्रियसभा राजनीति गर्ने थलो होइन, राइट मेन राइट प्लेसको नीति अपनाएर विवेकको मत प्रयोग गर्न म अपिल गर्छु ।” आफू राष्ट्रियसभामा विजयी बनेमा सहमतिमा बनेको नीति निर्माणमा अग्रसर रहने, विभेदपूर्ण नीति र विधि बनाउन नदिने, कृषिलाई ब्यावसायिकीकरण गर्न पहल गर्ने, आमूल आर्थिक परिवर्तनका लागि नीति निर्माण र कार्यान्वयनमा पहल गर्ने, स्थायी शान्ति, लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासमा पहल गर्ने घिमिरेले बताए ।
लामो समय झापा उद्योग वाणिज्य संघसहित विभिन्न सामाजिक संस्थाहरुको समेत नेतृत्व गरेका घिमिरेले भने, “नेपालको वस्तु भारतीय ट्याग लगाएर विदेशसम्म बेच्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य जरुरी छ । विभेदको दृष्टिले नहेरी आमूल आर्थिक परिवर्तनका लागि सक्षम व्यक्तिलाई छान्न म आग्रह गर्छु ।”
पत्रकारहरुको जिज्ञाशाको जवाफमा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले स्थानीय तहमा भन्दा माथिल्लो निकायमा घिमिरेको भूमिका प्रभावकारी हुने देखेर पार्टीले उम्मेद्वारका रुपमा उभ्याएको बताए । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले एकलौटी हिसावले समृद्धि नआउने बताउँदै सहकार्य जरुरी रहेकाले विवेक पु-याएर मतदान गर्न आग्रह गरे । राष्ट्रिय सभामा गाउँ-नगर, उपमहानगर-महानगर समितिका सभापति तथा उपसभापति र प्रदेशसभाका सदस्यहरुले मतदान गर्ने प्रावधान छ । आगामी माघ ९ गतेका लागि राष्ट्रियसभाको निर्वाचन तय भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रदेश–१ बाट खुल्लातर्फ राजेन्द्र घिमिरे, दलिततर्फ निरवहादुर वि.क (विमल धमला) र महिलातर्फ मिना पुलामीको उम्मेद्वारी दर्ता भइसकेको छ ।