विद्युतीय उपकरण आउन सुरु «

विद्युतीय उपकरण आउन सुरु

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा, २३ पुस
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अति आवश्यक उपकरणहरू आउन सुरु भएको छ । विद्युतीय तथा सूचना संयन्त्रका उपकरणहरू आए लगत्तै धावनमार्ग, टावरका साथै टर्मिनल भवनको आगमन तथा प्रस्थान भवनमा जडान गर्न सुरु हुने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । सोमबार मात्रै टर्मिनल भवन, टावरमा प्रयोग हुने एलिभेटर(विद्युतीय मेसिन) आइपुगेको छ । अन्य साामनहरू आइरहेका छन् । २ साताभित्र सबै सामानहरू आउनेमा विश्वस्त छांै, उनले भने ।
टर्मिनल भवनका विद्युतीय उपकरणहरूमा मुख्य एलिभेटर मेसिन, एक्सरे मेसिन, ब्यागेज ह्यान्डलिङ सिष्टमको कन्भेएर बेल्ट, प्यासेन्जर इनफरमेसनका लागि काउन्टरलगायतका स्थानमा राखीने डिस्प्ले सिष्टम, ब्यागेज कलेक्सन, फ्लाइट इन्फरमेसन एन्ड ब्यागेज डिस्प्ले सिस्टम, पब्लिक एड्रेस सिस्टम, एक्सेस कन्ट्रोल सिस्टम, सीसीटिभी केवल टेलिभिजन, फायर डिटेक्सन एन्ड अलराम सिस्टम, एसि मेसिनलगायतका उपकरण मुख्य हुन् ।
तीमध्ये एलिभेटर र एक्सरे मेसिन आइसकेको छ, अन्य केही सामान पहिलानै आइसकेका छन् । बाँकी सामान पनि क्रमिक रूपमा आउँदै गर्ने र धावनमार्ग तथा टावरलगायतका एरोथाई कम्पनिले आयात गर्ने सूचना तथा विद्युतीय उपकरणहरू केही भन्सार बिन्दुमा आइसकेको र केही बाटोमा आउने क्रममा रहेको अधिकारीले बताए ।
सूचना तथा विद्युतीय उपकरणहरू सबै नआए पनि समानान्तर रूपमा भने अन्य काम अहिले तीव्र गतिमा भैरहेको छ । अहिले विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम भैरहेको छ, सेन्ट्रल एसि जडान गर्ने, विद्युत् वायरिङ गर्ने कामहरू अन्तिम अबस्थामा छन् । त्यसैगरी टर्मिनल भवन अगाडि ट्याक्सीपार्क पनि निर्माणको अन्तिम चरणमा छ । मूल सडकबाट टर्मिनल भवन प्रवेश गर्ने अग्रभागमा आकर्षक फाउन्टेन (गोलाकार विद्युतीय फोहोरा) निर्माण भैरहेको छ भने अन्य बाँकी कामहरू पनि समानान्तर रूपमा भैरहेको आयोजना प्रमुख अधिकारीले बताए । जहाज पार्किङ स्थलमा मार्किङलगायतका काम सकिसकेको छ ।

समय घर्किदै

डिसेम्बर ३१ (२०१९)मा यो बिमानस्थलको निर्माण सबै सकिनु पर्ने समय सिमा थियो । तर, निर्माणकर्ता चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले समय सकिनु १० दिन अघिनै आयोजनाको कार्यालयलाई पत्र लेख्दै समय थप्न माग गरेको थियो । निर्माणकर्ता चिनियाँ कम्पनीको पत्रपछि आयोजनाको कार्यालयले ३ महिनाको समय भित्र बाँकी सबै काम सकिने अबस्था रहेको भन्दै केन्द्रमा ३ महिना समय थप्न भन्दै पत्राचार गरेको थियो । त्यही तीन महिनाको समयलाई आधार बिन्दु मान्दै अहिले काम तीव्र गतिमा भैरहेको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।
यद्यपी अहिले सम्म यती समय थपियो भनेर निर्णय भैसकेको छैन् । तर पनि ३ महिनाभित्र आईसीबी १ अन्तरगतको (चिनियाँ कम्पनीको काम)सबै काम सम्पन्न गर्ने लक्ष्य लिई काम भैरहेको छ, अधिकारीले कारोबारलाई भने । अन्तिम अबस्थामा आएर निर्माणकर्ता चिनिया कम्पनीलाई समयमा नसकेको भनेर हटाउन (टर्मिनेट) पनि मिलेन। यसो भएमा सिंगै आयोजनालाई धेरै ठूलो असर गर्छ, पछिल्लो एक बर्षमा अधिक काम भयो, अधिकारीले भने । अब ३ महिनामा सबै काम सकि अप्रिलभित्र क्यालिब्रेसन प्फ्लाईट(उपकरणले काम गरे नगरेको परीक्षण गर्ने उडान) गर्ने योजना छ।

म्याद थपको निर्णयमा ढिलाइ

निर्माणकर्ता कम्पनीले समय थप्न माग गर्दै पत्राचार गरेको लामो समय हुँदा पनि अझै सम्म मन्त्रालयले कुनै निर्णय गरेको छ्रन् । निर्माणकर्ता कम्पनिले म्याद थपका लागी पत्राचार गरेको दुई हप्ता बितिसक्दा पनि कुनै निर्णय भएको छ्रैन । आयोजनाको कार्यालयले पुस १० मै केन्द्रमा पत्राचार गरी म्याद थपका बारेमा जानकारी गराएको थियो ।
स्रोतका अनुसार बिभागीयमन्त्री योगेश भट्टराई वैदेशिक भ्रमणमा रहेकोले उहा नेपाल आए पछि म्याद थप बारे बल्ल निर्णय हुने जनाईएको छ । यद्यपी म्याद थप नभए पनि बिमानस्थल निर्माणको काम युद्धस्तरमा भैरहेको छ ।

विमानस्थलको भौतिक निर्माण तर्फको कामको ठेक्का चिनियाँ कम्पनिको हो । यसकालागि ६ अर्व २२ करोड ५१ लाख रुपैयाँ लागतमा सम्झौता भएको थियो । यस विमानस्थललाई अत्याधुनिक बनाउन पछि ९.६२ प्रतिशत (करिव ६० करोड) रकम थप स्वीकृत गरिएपछि सम्झौता रकम ६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
विमानस्थलको भौतिक संरचना बाहेक एयर ट्राफिक, संचार र मौसम व्यवस्थापनका लागि उपकरण आयात गरी जडानकालागि ठेकेदार कम्पनि थाइल्याण्डको एरो थाइ कम्पनी हो ।
। करिव ५२ करोड रुपैयामा एरो थाइ कम्पनीसँग ७ मार्च २०१९ मा ठेक्का सम्झौता भएको थियो । यस ठेक्काअन्तर्गत भिओआर÷डिएमई (विमान र विमानस्थलबीच समन्वय गर्ने, (विमान कति उचाइमा छ, कति दुरीको टाढामा छ ? भन्ने वारेमा पत्ता लगाएर सम्पर्क गर्ने) उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, एक्सरे, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्ने लगायत्का उपकरण जडान हुने छन् ।
सन् २०१५ जनवरी १५ का दिन तत्कालिन प्रधानमन्त्री स्व.सुशील कोइरालाले शिलन्यास गरेको यस आयोजना दिशेम्बर २०१७ सम्म निर्माण सम्पन्न हुनु पर्ने थियो । यस आयोजनाको पहिलो पटक म्याद थप गरेर १५ जुन २०१८, दोश्रो पटक २८ जुन २०१९ कायम गरिएको थियो । तेस्रो पटक दिशेम्बर २०१९ कायम गरिएको हो । चौथो पटक म्याद थपको निर्णय भने भैसकेको छैन ।
बुद्धको आकृति राखिने
विमानस्थलमा सुन्दरीकरण गरी आकर्षक बनाउनका लागि आयोजनाले विमानस्थल परिसरमा बुद्धभूमि झल्किने खालको संरचना निर्माण गर्ने योजना प्रस्ताव गरेको छ । यस खालको संरचनाबाट विश्वसामु यस विमानस्थलको अलग्गै पहिचान हुने छ । केही दिन अघि मात्रै काठमाडांैको त्रिभुवन बिमानस्थलमा पनि ठुलो बुद्धमूर्ति राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्