Logo

मर्क्योरले खोल्यो नेपालमा पहिलो होटल

काठमाडौं- मर्क्योरले नेपालमा पहिलो होटल काठमाडौं सुकेधारा हाइट्समा खोलेको छ । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मर्क्योर नेपालमा यस ब्रान्डको पहिलो होटल सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उक्त होटलको उद्घाटन गरेका हुन् । यस होटलमा पाहुनाहरूले अत्याधुनिक सुविधा प्राप्त गर्न सक्ने सञ्चालकको भनाइ छ । परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्ने बताइएको छ ।

होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्नेछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रूफटप लाउन्ज सेटिङ प्रदान गर्नेछ ।

पाहुनाहरूले होटलको रूफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् । होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरूसम्मका कार्यक्रम र जमघटहरूको लागि उपयुक्त स्थान पनि प्रदान गर्ने जनाएको छ ।

”मर्क्योर काठमाडौं सुकेधारा हाइट्सको उद्घाटन एसियाभरि एकोरको विस्तार यात्रामा एक प्रमुख कोसेढुंगा हो । यो होटल हामीले सेवा गर्ने गन्तव्यहरूको समृद्ध संस्कृति र सम्पदाको उत्सव मनाउँदै यात्रुहरूलाई विशिष्ट र इमर्सिभ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने हाम्रो लक्ष्यलाई मूर्त रूप दिन्छु”, एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने ।

सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रवर्द्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा १ हजारभन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २ सय २० भन्दा बढी अन्य संरचनाहरू विकास गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्