Logo

पत्रकार खनालको निधन

काठमाडौं- लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । ‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेखेका उनी २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम, नाङ्गिएकी सुन्दरी’ का कारण लोकप्रिय छन् ।

प्रकाशित शब्दभेदी लडाई, उनीका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उनका कृति सूक्ष्म रूपमा अध्ययन गरेका डा रमेशचन्द्र न्यौपानेले बताए । तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उनले लेखेका सम्झन्छन् डा न्यौपाने ।

चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उनले निर्भीक पत्रकारिता गरेको र उनका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित रहेको डा न्यौपानेले बताए । पारिवारिक स्रोतकाअनुसार बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका छ जना छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्