Logo

पर्यटन, व्यापार र लगानीमा सहकार्य गर्न बंगलादेश इच्छुक

बिर्तामोड– नेपालसंँगको पर्यटन, व्यापार र लगानीमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको छ । नेपालका लागि बंगलादेशका कार्यवाहक राजदूत मोहम्मद हुमायुम कविरले कृषि, व्यापार, पर्यटन, ऊर्जा र लगानीका क्षेत्रमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएका हुन् ।

नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सले झापाको मेचीनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत कविरले नेपाल र बंगलादेश असल मित्र भएकाले आर्थिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकले सम्भावनाका क्षेत्रहरू पहिल्याउनु पर्ने बताउँदै त्यसका लागी आफूहरू सहकार्य गर्न तयार रहेको जनाए । नेपाल र बंगलादेश व्यावसायिक रूपमा ठूलो सम्भावना बोकेको देशहरू भएको बताउँदै उनले बंगलादेशले नेपालसँग व्यापार खासै नगरिरहेकाले नेपाल र बंगलादेश व्यापारका लागि आफू लागिपर्ने बताए ।

बंगलादेशको राजधानी ढाकाबाट सोझै पोखरामा हवाई उडान विस्तार गर्न, नेपालको जलविद्युत अझ बढी मात्रामा खरिद गर्न र लगानीका नयाँ क्षेत्रहरू खोज्न बंगलादेश सरकार तयार रहेको उनको भनाइ छ । व्यापार बढ्दा दुबै देशले लाभ पाउने हुँदा यसका लागि गृहकार्य गर्न आवश्यक रहेको बताउँदै उनले व्यापार सहजीकरणका लागि दुवै देशको वाणिज्य मन्त्रालयस्तरमा उत्पादित वस्तुको सूची तयार पार्ने कार्य भइरहेको जानकारी दिए ।

विश्व व्यापार संगठन र सार्क स्तरको व्यापार सहमति अनुरुप सहज रूपमा एक देशको उत्पादन अर्को देशमा पुग्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । नेपाल–बंगलादेश पर्यटन र व्यापार क्षेत्रमा सहकार्य अघि बढाउनेतर्फ आफ्नो मुलुकले प्राथमिकता दिएको बताउँदै कार्यवाहक राजदूत कविरले दुई मुलुकबीचको नजिकको नाका बंगलाबन्धलाई अधिकतम उपयोग गर्न व्यापार र पर्यटनलाई प्राथमिकता दिनुपर्ने जनाए ।

दुवै मुलुकबीच सहकार्य भए दुवै देशले पर्यटन र व्यापारको क्षेत्रमा लाभ उठाउन सकिने बताउँदै उनले बंगलादेश सरकार नेपालसँग ऊर्जाको क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको जनाए । उनले झापासहित कोशी प्रदेशमा पर्यटनको सम्भावना पर्याप्त रहेको बताउँदै प्याकेज कार्यक्रमका रूपमा सहकार्यअघि बढाउन पहल गर्ने बताए । बंगलादेशले नेपाललाई शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै त्यस्तो सहयोग आगामी दिनमा पनि जारी रहने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक पन्नालाल जैनले भौगोलिक रूपमा नजिक रहेको बंगलादेशको साहिदपुर र झापाको चन्द्रगढी विमानस्थलबीच हवाई उडानको व्यवस्था भएमा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए । उनले विद्युत, पानी, ढुंगागिटी, प्लाइउड, भेनियर, खाद्यान्नलगायतको व्यापारमा बंगलादेश र नेपालले कर र अन्य झनझटिलो प्रक्रियालाई सहज गरिदिन माग गरे ।

उनले बंगलादेशसँगको सहकार्यले द्विपक्षीय आर्थिक सम्बन्धका नयाँ सम्भावनाहरूको खोजी गर्न आग्रह गर्दै दुई मुलुकबीचको व्यापारिक नाका बंगलाबन्धलाई उपयोगी बनाउनु पर्ने बताए । नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले व्यापारिक सहजीकरणका लागि पूर्वीनाका काँकडभिट्टामा बंगलादेशले कन्सुलर कार्यालय स्थापना गर्नुपर्ने बताए ।

नेपालका कृषि तथा जडिबुटीजन्य वस्तु, प्लाइउड तथा भेनियर वस्तु, विद्युत, हिमालयन पेयजल, ढुंगागिटीलगायतका वस्तुको बंगलादेशमा उच्च माग रहेको उल्लेख गर्दै नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका अध्यक्ष क्षेत्रीले नेपालको अलैँची, अम्लिसो, अदुवा, प्लाइउड र भेनियर बंगलादेशमा सोझै निर्यात गर्नका लागि नेपाली व्यवसायीहरू इच्छुक रहेको जानकारी दिए । उनले नेपाल, भारत र बंगलादेशको सीमा नाकामा उद्योगी व्यवसायीलाई हुने विभिन्न समस्याहरूलाई सहज रूपमा निराकरण गरिदिन आग्रह गरे ।

नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सकी सदस्य शर्मिला क्षेत्रीले नेपाल र बंगलादेश निकट छिमेकी भएर पनि अपेक्षा अनुरुप आर्थिक कारोबार हुन नसकेको बताउँदै दुवै देशले निर्यात र आयात हुने वस्तुलाई भन्सारमा विशेष सहुलियत दिनुपर्नेमा जोड दिइन् । मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीले नेपाल र बंगलादेशबीच व्यापारका लागि पहल गरिदिन कार्यवाहक राजदूत कबिरलाई आग्रह गरिन् ।

नेपालका लागि बंगलादेशका कार्यवाहक राजदूत मोहम्मद हुमायुम कविर, राजदूतावासका प्रथम सचिव एएसएम सादिकसहित झापा आएका हुन् । बंगलादेशमा भएको विद्यार्थीको आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना पदमुक्त भएपछि नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धदीन नोमन चौधरी हटेका थिए । त्यसपछि कविर कार्यवहाक राजदूतको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्