Logo

सुदूरको मौलिक संस्कृति संरक्षण गर्न जोड

महेन्द्रनगर– सुदूरपश्चिमको मौलिक लोकपरम्परा, संस्कृति संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । थारु पहाडी समुदायले मनाउँदै आएको माघी साझा पर्व पछिल्ला वर्षमा लोप भइरहेको भन्दै सरोकारवालाले संरक्षणमा जोड दिएका हुन् । सुदूरपश्चिमको तराई क्षेत्रमा बसोबास गर्दै आइरहेका थारु समुदाय र पहाडमा बस्दै आएका पहाडी समुदायले माघीलाई आआफ्नो संस्कृति अनुरुप मनाउँदै आएका छन् ।

हरेक वर्ष माघ १ गते मकर संक्रान्ति अर्थात् नरहरि पर्व पहाडी समुदाय र थारु समुदायले नयाँ वर्षकै रूपमा माघी मनाउँदै आएका छन् । थारु–पहाडी समुदायले यसरी मनाउने पर्व संरक्षण, प्रवर्द्धन एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने सरोकारवालाको भनाइ छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनरमा असाहय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रले आयोजना गरेको माघी विशेष कार्यक्रममा सुदूरको लोप भइरहेको पर्व संरक्षणमा सरोकारवालाले जोड दिएका हुन् ।

महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल)का पूर्वशिक्षिक एवम् योगगुरु विजयालक्ष्मी अवस्थीले पछिल्ला वर्षमा थारु र पहाडी समुदायमा नयाँ पुस्ताले आफ्नो परम्परा संरक्षणमा चासो नदेखाएको भन्दै यसको संरक्षण अपरिहार्य रहेको बताइन् । ‘परापूर्वकालदेखि चल्दै आएका लोक संस्कृति, कला, परम्परा हामीले संरक्षण गर्नुपर्छ, यो त हाम्रो गहना पनि हो यसको सरक्षण गर्नु अहिलेका पुस्ताका लागि चुनौती बनेको छ ।’

असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रकी अध्यक्ष एवम् देउडीया मञ्जु गिरिले लोप भइरहेको सुदूरको मौलिक परम्परा संरक्षणका अपरिहार्य रहेको बताइन् । ‘आधुनिकतासँंगै प्रविधिको विकासले हाम्रा कला संस्कृतिमाथि पनि चुनौती थपिदिएको छ, ‘यसको संरक्षण गर्न नसके हाम्रो पहिचान नै गुम्ने खतरा छ । त्यसैले हामीले सामूहिक रूपमा माघी कार्यक्रम गरेका छौँ, यहाँ थारु र पहाडी समुदायले छुट्टाछुट्टै कला संस्कृति प्रस्तुत गरेका छौँ ।’ पहिलेदेखि माघीमा खाने परिकार, भेषभूषा, पहिरन झल्किने गरेर हामीले कार्यक्रम गरेको बताउँदै अध्यक्ष गिरिले लोक संस्कृतिसँगै मौलिक खाने परिवार संरक्षण गर्नुपर्ने समेत बताइन् ।

तरुल, तिलको लड्डु, सखरखण्डजस्ता पोषिला खाने परिकारसमेत वितरण गरेर नयाँ पुस्तामा माघका दिन यस्ता खाने परिकार उपभोग गर्दै आएको उनले जानकारी गराइन् । त्यसैगरी थारु समुदायकी अगुवा युवा एवम् पत्रकार पूजा चौधरीले माघी पर्व थारु समुदायमा उत्सवकै रूपमा मनाउँदै आएको बताइन् । उनले ठूलाबडाबाट सानाले आर्शिवाद लिएर मनाउने उक्त पर्वमा मिठामिठा खाने परिकार खाएर मनाउँदै आएको बताइन् ।

सुदूरपश्चिम विश्वविद्यालय सभा सदस्य डा. कृष्णदत्त जोशीले आफ्नै परम्परा संस्कृति भुल्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘हाम्रा पहिचानका साँस्कृतिक कार्यक्रम हामीले भुलिरहेका छौँ,’ ‘उनले भने, ‘पुराना पुस्तामा भएका कला, संस्कृति अब नयाँ पुस्ताले पनि सिक्नुपर्छ ।’ आधुनिकतासंँगै नेपालीहरू विदेशिने प्रवृत्तिले पनि नेपालीको लोक संस्कृति संरक्षणमा चुनौती थपिदिएको उनले बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले माघ महिना पवित्र महिना भएकाले यसको बेग्लै महत्त्व रहेको बताए । उनले माघी पर्व सुपमा बस्ने थारु, पहाडी दुवै समुदायको साझा पर्व भएकाले ऐतिहासिक रूपमा मनाउँदै आएको बताए । उनले प्रतिष्ठानले सुदूरपश्चिमका नौवटै जिल्लामा रहेको कला, साहित्य, भेषभूषा, संस्कृति संरक्षण गर्न लागेको बताउँदै आफ्नो लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान गराउने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्