Logo

क्षति रोक्न भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड, पूर्वतयारी मजबुद नहुँदा जोखिम बढ्यो

कमजोर संरचनाले भूकम्पमा ८० प्रतिशत क्षति

जुम्ला– कमजोर संरचनाका कारण भूकम्पमा सबैभन्दा बढी भौतिक क्षति हुने गरेको पाइएको छ । नेपालमा २०७२ र २०८० मा गएको भूकम्पपछि गरिएको अध्ययनअनुसार नेपालमा ८० प्रतिशत क्षति कमजोर संरचनाका कारण हुने गरेको भेटिएको हो । सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख राजेन्द्र खतिवडाले भवन निर्माण आचार संहिता बेगर निर्माण गरिएका कमजोर संरचनाकै कारण नेपालमा भूकम्पबाट ८० प्रतिशत जनधनको क्षति हुने गरेको बताए ।

२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित अन्तरक्रियामा प्रस्तुति दिँदै आयोजना प्रमुख खतिवडाले भने, ‘भूकम्प प्रतिरोधी संरचना नभएकै कारण भूकम्प र त्यसका पराकम्पनले संरचना भत्किएर ८० प्रतिशत क्षति हुने गरेको छ । तत्काल स्वास्थ्य उपचारको अभावले आठ प्रतिशत, समयमै खोज तथा उद्दार नपाउनाले आठ प्रतिशत क्षति र अन्य चार प्रतिशत गैरभूकम्पीय संरचनाका कारण क्षति हुने गरेको छ ।’

भूकम्पबाट क्षति कम गर्न, जोखिमबाट बच्ने उत्तम विकल्प भनेकै मजबुद संचरना बनाउनु हो । भवन निर्माण आचार संहिताको पालना गर्नु हो भने अनिवार्य घरनक्सा पास गर्नु हो । तर हाम्रो समुदायले यस विषयमा ख्याल गरेको छैन भने सरकारी तवरबाट पनि पर्याप्त सचेतना नपुगको उनको भनाइ छ । नेपालमा २०७२ र २०८० को भूकम्पले बलियो संरचना र मजबुद पूर्वतयारी गर्नुपर्ने पाठ सिकाएको छ । यद्यपि नेपालसहित पश्चिम क्षेत्र पछिल्लो समय भूकम्पीय उच्च जोखिम हुँदा पूर्वतयारी कमजोर देखिन्छ ।

त्यसैले मापदण्डनुसारको संरचना बनाउनेदेखि सेचतना वृद्धिमा जोड दिनुपर्ने उल्लेख गरे । नेपालमा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिए पनि पूर्वतयारी र संरचना निर्माण सरकारी संयन्त्र नै चुकिरहेको छ । संघीयतापछि निजी तथा सरकारी भवनको निर्माणले गति लिएको छ । तर अधिकांश स्थानीय तहले अझै घर निर्माण गर्दा नक्सा पास अनिवार्य गर्न सकेका छैनन् । जसका कारण बढ्दो भूकम्पीय जोखिमबाट नागरिक जुदिरहेका छन् ।

सरकारी तथ्यांकअनुसार २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको भूकम्पले नेपालमा १० लाख ७२ हजार ९३ वटा भौतिक संरचना (नीजि घर, कार्यालय भवन, उद्योग कलकारना)मा क्षति पुगेको थियो । जसमध्ये सात लाख ७३ हजार संरचनामा पूर्णरूपमा क्षति भएको थियो भने आठ हजार ९६२ जना नागरिकको मृत्यु हुँदा २१ हजार ९५२ जना घाइते भएका थिए ।

त्यस्तै २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्र विन्दु भएर गएको ५.७ रेक्टर स्केलको भूकम्पले नौ हजारभन्दा बढी घर भवन पूर्णरूपमा क्षति भए । २४ हजार बढी घरमा आशिंक क्षति हुँदा १५३ जना नागरिकले ज्यान गुमाए । कमजोर संरचना र मजबुद पूर्वतयारी नभएकै कारणले ठूलो जनधनको क्षति भएको भूकम्पविद तथा सरकारी अध्ययनको निष्कर्ष छ ।

जुम्लाका आठै पालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने देखिएको छ । बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२, राष्ट्रिय भवन संहिता, भवन ऐन २०५५, भवन निर्माण आचारसंहिता २०६० र नगर विकास ऐन २०४५ को कार्यान्वयनमा स्थानीय सरकार र नागरिक अगुवा जागरुक भएमा भूकम्पीय क्षति कम गर्न सकिने समेत तातोपानी गाउँपालिकाका इन्जिनियर डिल्ली बुढाले बताए ।

उनका अनुसार जुम्लामा भूकम्पीय क्षति कम गर्न पूर्वतयारी कमजोर छ । जसका कारण भविष्यमा ठूलो क्षति बेहोर्नु पर्ने स्थिति छ । घर भवन निर्माण गर्दा दक्ष मिस्त्री, नक्सा पास अनिवार्य, गुणस्तर निर्माण सामग्री प्रयोग, भिरालो जमिनमा संरचना नबनाउने जस्ता कुरामा ध्यान दिन जनचेतना फैलाउनु पर्नेमा इन्जिनियर बुढाले जोड दिए ।

नक्सा पास अनिवार्य गर्न जोड
भूकम्पबाट हुने क्षतिलाई रोक्न भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् । पछिल्लो समय बढ्दो भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै मानविय तथा भौतिक क्षति रोक्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न नक्सा पास अनिवार्य गर्न जुम्लाका सरोकारवालाले जोड दिएका हुन् ।

२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रभातफेरी पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पछिल्ला वर्षमा कमजोर संरचनाका कारण भूकम्पमाबाट नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेको बताए । उनले भने, ‘भूकम्प एक प्राकृतिक प्रकोप हो । आइसकेपछि न्यूनीकरण र क्षति रोक्न मुस्किल हुन्छ । त्यसैले भूकम्पीय जोखिम न्यूनीकरण गर्न हामीले भवन निर्माण आचारसंहिता पालना गरी संरचना निर्माण गर्ने, निजी सार्वजनिक तथा सरकारी भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्ने नीति कार्यान्वयनमा जोड दिन जरुरी छ ।’

जुम्लाका सबै पालिकाले नक्सा पास अनिवार्य गरेको छ कि छैन ? जोखिम बस्ती पहिचान तथा राहत उद्दारको पूर्वतयारी कस्तो छ ? भन्ने विषयमा स्थानीय तहलाई उत्तरदायी बनाउने कसरी बहस अन्तरक्रिया गर्नुपर्ने प्रजिअ शाहीले उल्लेख गरे । भूकम्पीय जोखिमबाट बच्ने र जनधनको क्षति न्यूनीकरण गर्ने उत्तम विकल्प नै मजवुद पूर्वतयारी र भूकम्प प्रतिरोधी संचरना निर्माण भएकाले त्यसमा ध्यान दिन सबैलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले २०७२ र २०८० सालको ठूलो भूकम्पले पूर्वतयारी तथा भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताए । भूकम्पीय सुरक्षा तथा जोखिम र क्षति न्यूनीकरणमा भवन निर्माण आचारसंहिता कार्यान्वयन र नक्सा पास अनिवार्य गराउन पत्रकार महासंघले पहल गर्ने अध्यक्ष चौलागाईंले उल्लेख गरे । तर जुम्लाका आठ पालिकामध्ये तिलाबाहेक सात पालिकामा नक्सा पासको नीति बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्