अस्ट्रेलियाको धूवाँ दक्षिण अमेरिका पुग्यो

उरुग्वे-अस्ट्रेलियामा लागिरहेको आगलागीको धूवाँ दक्षिण अमेरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार अस्ट्रेलियाको धूवाँ दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ ।
“यही जनवरी ६ मा दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धूवाँ देख्न थालेका छौं,” उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
अस्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धूवाँले त्यस क्षेत्रका अन्य देशहरूमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका सञ्चार माध्यमहरूलाई दिएको जानकारीअनुसार अस्ट्रेलियाबाट आएको धूवाँले उरुग्वेको वायुमण्डललाई समेत प्रदूषित गराएको छ ।
उनले सो धूवाँकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे । अस्ट्रेलियाको धूवाँ प्रशान्त महासागर हुँदै झन्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए ।
गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ ।