Logo

भेरी र कर्णाली करिडोर सडकका लागि सवा चार अर्ब स्रोत सुनिश्चित

सुर्खेत– कर्णाली प्रदेशका महत्वपूर्ण सडक आयोजना भेरी करिडोर र कर्णाली करिडोरका लागि अर्थ मन्त्रालयले ४ अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहअनुसार अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधि सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री धनबहादुर बुढाले जानकारी दिए । लामो समयदेखि अल्झिएको काम अहिले भएको भन्दै पूर्वमन्त्री बुढाले भने, ‘अब भेरी करिडोरको काम गतिका साथ अगाडि बढछ । भेरी करिडोर सडकभित्रको जाजरकोट–डोल्पा सडक खण्डको ११८ किलोमिटर मध्ये ६२ किलोमिटरमा अहिले काम भइरहेको छ । बाँकी ५६ किलोमिटरमध्ये ४२ किलोमिटर सडक स्तरोन्नतिका लागि यो बजेट आएको हो ।’

स्रोत सुनिश्चित भएसँगै नेपाली सेनाले ट्रयाक खोलेको सडकमा नयाँ ठेक्का लगाएर स्तरोन्नतिको काम सुरु गरिने आयोजना प्रमुख सुनिल रन्जितकारले जानकारी दिए । केही दिनमा पुलको रकमसमेत सुनिश्चित गर्ने अन्तिम तयारीमा रहेको समेत पूर्वमन्त्री बुढाले बताए । अहिले बेलिब्रिज भएको ठाउँमा पक्की पुल निर्माण गरेर भेरी करिडोर सडकलाई अझ भरपर्दो र विश्वासिलो बनाउन लागेको उनको भनाइ छ । त्यहाँ डबल लाइनको सडक निर्माण हुने उनले बताए ।

त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य राखिएको भेरी करिडोरमा दुनैभन्दा माथिल्लो भागमा निर्माण व्यवसायीले समयमा काम नगर्दा तोकिएको समयमा काम हुनेमा चिन्ता थपिएको छ । जाजरकोटको तल्लु बगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायातका साधन सञ्चालनमा आएका छन् । सोही ठाउँमा पक्की सडक निर्माण गर्न अहिले बजेट सुनिश्चित भएको हो । अहिले तल्लुबाट त्रिपुरोकाटसम्मको सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित भएको पूर्वसहरी विकासमन्त्री बुढाले बताए ।

भेरी करिडोरकै दुनैबाट लासिक्यामसम्मको सडक निर्माण गर्न लागेको ठेक्काको म्याद सकिन एक वर्षमात्र बाँकी छ । अहिले यसमा १५ प्रतिशतमात्र प्रगति पुगेको छ । भेरी करिडोर सडक आयोजनाले सडक निर्माणको कामलाई तीव्रता दिन बारम्बार ताकेता गरेको योजना प्रमुख रन्जितकारले बताए । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटर कच्ची कटान गर्नु पर्नेछ । दुनै–लासिक्याप सडक खण्डको काम जतिसक्दो छिटो भएमात्र सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिने सडकको कामसमेत अगाडि बढ्ने देखिन्छ । अहिले २५ किलोमिटर सडक खण्डभित्र कच्ची कटानको काम तीव्र रुपमा अगाडि बढाउन निर्माण व्यवसायीलाई ताकेता गरेको आयोजना प्रमुख रन्जितकारले जानकारी दिए ।

माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम सडक ७५ किलोमिटर छ । उक्त ठाउँमा नेपाली सेनाले नै ४० किलोमिटर कच्ची कटानको काम गरिसकेको छ । दुनैबाट लासिक्याप २५ किलोमिटर छ भने लासिक्यापबाट मरिम ७५ किलोमिटर छ । दुनै–लासिक्याप सडक निर्माण सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौंको जिम्मेवारीमा छ । सडक निर्माण गर्न जेभीसँग एक वर्षमात्र समय छ । जेभीले २०७८ चैत १७ मा सम्झौता गरेर २०८२ पुस १६ मा निर्माण कार्य पूरा गर्ने सहमति गरेर काम गर्दै आएको छ । १३ करोड ४२ लाखमा उक्त ठेक्का जेभीले लिएको छ ।

जेभीले जतिसक्दो सडकको कच्ची कटानको काम पूरा गरेमा मात्र सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले निर्माणको जिम्मेवारी लिने सडक निर्माण गर्न सहज हुने देखिन्छ । तल्लो सडक निर्माण नगरी माथिल्लो सडक निर्माण गर्नका लागि आवश्यक उपकरण लैजान सहज नहुने देखिन्छ । लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने भन्दै प्राविधिक काम सकेर सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ ।

भौतिक मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा उक्त सडक निर्माणको जिम्मेवारी सेनालाई दिनका लागि निर्णय गर्नमात्र बाँकी रहेको पूर्वमन्त्री बुढाले बताए । यो सडकमा चट्टान फोर्नका लागि विस्फोट गराउनुपर्ने अवस्था छ । यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । नेपाली सेनाले भेरी करिडोर अन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त ११८ किलोमिटर सडक २०७६ मा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

माथिल्लो डोल्पाका तीन गाउँपालिकाका वासिन्दाले सडक सुविधा नहुँदा नागरिकतादेखि सरकारी कामकाजका लागि सदरमुकाम दुनैसम्म आउन एक साता पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । खाद्यान र अन्य सामानलाई महँगो मूल्य तिर्नुपरेको छ । सडक समयमा निर्माण नहुँदा आफूहरूलाई भारी समस्या भएको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले बताए ।

डोल्पा जडिबुटीको भण्डार भएकाले भेरी करिडोर निर्माण भए कर्णाली प्रदेशलाई फाइदा पुग्नेछ । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

अर्कोतिर भेरी करिडोरको जाजरकोट डोल्पा सडक खण्डको बीचमा रहेका पुलको ठेक्का क्याराभान हिराचन जेभीले लिएको छ तर काम सुरु भएको छैन । उक्त जेभीले २०७७ माघ २ गते नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । त्यस्तै रायमाझी क्याराभान जेभीले २०७७ माघ २ मै भेरी करिडोरका मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको जिम्मेवारी लिएको थियो । १८ करोड ४३ लाखमा पहिलो ठेक्का र दोस्रो ठेक्का १३ करोड ५४ लाखमा लागेको हो ।

अहिले रहेका बेलिब्रिज पुलमा ठूलो तौलका यातायाताका साधन सञ्चालनमा समस्या छ । त्यस्तै कर्णाली करिडोरको दक्षिणी खण्डमा रहेको खुलालु सल्ली सल्ला कालिकोट सडकलाई स्तरोन्नति गर्न पनि स्रोत सुनिश्चित गरिएको छ । कर्णाली करिडोर सडकभित्रकै हिल्सा–सिमकोट सडक खण्डको पनि स्रोत सुनिश्चित भएको छ । सडकको स्तरोन्नति गर्न स्रोत सुनिश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्