Logo

खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन सात दिनको अल्टिमेटम


काठमाडौं– वायुसेवा सञ्चालक संघले एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान खुला नभए सबै हवाई उडान ठप्प पार्ने चेतावनी दिएको छ ।

स्थानीय अवरोधका कारण ११ दिनयता खुम्बु क्षेत्रमा उडान बन्द गरेको संघले माघ ९ भित्र हेलिकोप्टर उडानमा भएको समस्या समाधान गर्न अल्टिमेटम दिएको हो । ११ दिन हुँदासम्म पनि सरकारी पक्षबाट कुनै प्रतिक्रिया नजनाइएकाले माघ ९ गतेसम्मको समय दिइएको संघका अध्यक्ष मनोज कार्कीले बताए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय निकुञ्जले उडान गर्न खुला गरे पनि स्थानीय अवरोध कायमै छ ।’

स्थानीय अवरोधका कारण खुम्बु क्षेत्रमा संघले पुस २१ बाट उडान बन्द गरेको थियो भने २२ गते सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा खलल नपर्ने गरी उडान गर्न हेलिकोप्टर कम्पनीहरुलाई अनुमति दिएको थियो । तर, स्थानीय अवरोध कायमै रहेको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उडान हुन सकेको थिएन ।

दुई चरणमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । त्यसयता प्रशासन कार्यालय र गाउँपालिकाले आन्तरिक छलफल गरेको भए पनि संघसँग भने कुनै औपचारिक छलफल नभएको अध्यक्ष कार्कीले बताए । उनले भने, ‘हामी पर्ख र हेरकै अवस्थामा ११ दिन बित्यो । अब भने ध्यानाकर्षणका लागि बाध्य भएका छौं ।’ खुम्बु क्षेत्रका हेलिप्याडमा अवरोध राखिएको र उडान सुरक्षालाई चुनदैतीमा राखेर उडान भर्न सम्भव नभएकाले उडान बन्द गर्दै आएको अध्यक्ष कार्कीको भनाइ छ ।

स्थानीय तहका प्रतिनिधिहरुसँग समन्वय गरेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले छलफल जारी राखेको र चाँडै निष्कर्षमा पुगिने प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । उनले भने, ‘खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीयसँग गाउँसभा राखेको छ । त्यसबाट पनि केही समझदारीको बाटो बन्छ । जिल्लाले ११ गते समन्वय बैठक राखेको छ । चाँडै निष्कर्षमा पुग्ने विश्वास छ ।’ बैठकबाट पनि समस्या समाधान नभए कानुनी उपचारमा जाने प्रजिअ घिमिरेले बताए ।

प्रशासन कार्यालयले सूचना जारी गरेर अवरोध नगर्न र अवरोध भएमा कानुनअनुसार कारवाही गर्ने जनाएको छ । कार्यालयले स्थानीय प्रशासन र प्रहरी निकायसँग समन्वय गरेर उडान गर्न कम्पनीहरुलाई भनेको छ ।

यता संघले बुधबार विज्ञप्तिमार्फत माघ ११ गते सरोकारवालाहरुबीच समन्वय बैठक आह्वान गरेको छ । त्यसअघि ९ गतेभित्रै हेलिकोप्टर उडानको पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधान गर्न अनुरोध गरिएको छ । संघले भनेको छ, ‘त्यो समयभित्र समस्या समाधान नभए सोलुखुम्बु जिल्लाभित्र उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीहरुले समेत सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने व्यहोरा सबै पक्षहरुलाई जानकारी गराउँदछांै ।’
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्जको बफर जोन क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै २०२५ जनवरी १ देखि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्