आइटीमा देखिएको आर्थिक सम्भावना

सूचना प्रविधि अर्थात् इन्फरमेसन टेक्नोलोजी (आइटी) को विकास र यसको उपयोगबाट विश्व समुदायमा व्यापक सामाजिक रूपान्तरण देखा परेको छ र विश्व अर्थतन्त्रले पनि कोल्टे नै फेरेको छ । आइटीलाई प्रवद्र्धन गर्ने र यसको मद्दतबाट आर्थिक तथा सामाजिक क्रियाकलाप अघि बढाउने मुलुकहरू आर्थिक तथा सामाजिक दृष्टिकोणले तुलनात्मक रूपमा अरू मुलुकभन्दा धेरै अगाडि पुगिसकेका छन् । यसैगरी समाजमा ज्ञानको पनि निकै विस्तार भएको छ । विश्व समुदायमा भएका कुनै पनि घटनाक्रमसँग तत्काल परिचित र अवगत हुने अवसरले गर्दा मानिसमा ज्ञानको विस्तार व्यापक रूपमा भएको छ । त्यसैले पछिल्लो समय आइटीको प्रयोग र यसको प्रवद्र्धनमा विश्वव्यापी रूपमा प्रतिस्पर्धा नै चलेको छ ।
आइटीले अरू वस्तुको परिमाणात्मक र गुणात्मक उत्पादन वृद्धिमा मात्रै सघाएको छैन, यो स्वयं आफैँ पनि एउटा बहुउपयोगी उत्पादनको रूपमा विश्वभर निर्यात हुन थालेको छ । मान्छेको जीवनको एउटा अभिन्न अङ्ग बनेको छ, आइटी । अब संसारमा आइटीबिनाको जीवनको कल्पना नै गर्न नसकिने भइसकेको छ । एकैछिन मात्रै आइटीबाट टाढा हुने हो भने जीवन नै ठप्प हुने स्थिति भइसकेको छ । त्यसैले आइटी सेवाको उत्पादनमा विश्वव्यापी प्रतिस्पर्धा बढेको छ भने यसका प्रयोगकर्ता पनि अकल्पनीय रूपमा बढेका छन् । संसारभर आइटीको उपयोग र यसको मागमा अकल्पनीय वृद्धि हुँदा ठूला आइटी सेवाका उत्पादक तथा बिक्री कम्पनीका मालिकहरू संसारका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा पर्न सफल भएका छन् ।
अहिले संसारभर वस्तु उत्पादन गरी निर्यात गर्ने प्रतिस्पर्धामा आइटी सेवा अग्रस्थानमा पर्न थालेको छ । आइटी सेवा निर्यात गरेर नै धेरै मुलुकले देशको आर्थिक समृद्धिमा टेवा पनि पुर्याइरहेका छन् । यस्तो अवस्थामा नेपालमा चाहिँ अझै पनि कृषि र औद्योगिक उत्पादनलाई मात्रै निर्यातमूलक वस्तुको रूपमा बुझिँदै आएको छ । तुलनात्मक लाभका वस्तु उत्पादनमा पनि विश्वव्यापी प्रतिस्पर्धा बढेको अवस्थामा नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकले थोरै परिमाणमा कृषि र औद्योगिक वस्तु उत्पादन गरेर विश्व बजारमा वस्तुको मूल्य र गुणस्तरमा तुलनात्मक प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले तुलनात्मक लाभका वस्तु अथवा सेवा उत्पादनमा नै जोड दिनुपर्ने आवश्यकता बढेको छ ।
विश्व बजारमा आफ्नो प्रभुत्व जमाउन थालेको आइटी सेवाको उत्पादनमा आफूलाई प्रतिस्पर्धी बनाउन सक्नु नै अहिलेको विश्व बजारमा आफूलाई टिकाइराख्ने र बिकाइराख्ने मुख्य आधार बन्न सक्छ । यसबाट तुलनात्मक रूपमा अरू वस्तु निर्यातबाट भन्दा बढी आर्थिक लाभ पनि हासिल गर्न सकिन्छ । राज्यले आइटी क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने नीति अँगाल्दै सोहीअनुरूपको रणनीति अपनाउने हो भने आइटी क्षेत्रले प्रदूषणरहित उद्योगको रूपमा विकास गर्ने अवसर पाउने, तुलनात्मक रूपमा बढी जनशक्तिले रोजगारी पाउने, निर्यात प्रवद्र्धनमा टेवा पुग्ने र व्यापार सन्तुलनमा समेत टेवा पुग्ने भई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।
विश्व बजारको प्रभावले गर्दा पछिल्लो समय नेपालमा पनि आइटी शिक्षामा विद्यार्थी तथा अभिभावकको अभिरुचि उत्साहजनक रूपमा बढेको छ । धेरै विद्यार्थी आइटी शिक्षामा आकर्षित हुँदा आइटीको अध्ययन–अध्यापन हुने कलेजहरूमा विद्यार्थीको चाप बढेको छ । विश्व बजारमै आइटीको प्रभाव घनिभूत हुँदै गएकाले आइटी शिक्षामा विद्यार्थीको आकर्षण अभूतपूर्व रूपमा बढेको छ । परिणामतः देशका प्रायः सबै कलेजमा आइटी शिक्षाका थरीथरी कोर्सहरू समावेश गरिएका छन् ।
देशमा आइटी कलेजहरू खुल्ने, आइटीका कोर्स पढाउने र विदेशबाट पनि आइटी पढेर आउने क्रम बढेसँगै देशमा आइटीको जनशक्ति पनि ह्वात्तै बढेको पाइन्छ । यसैगरी देशमा आइटीका वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने विभिन्न कम्पनी खुल्ने क्रम पनि जारी छ ।
देशमा आइटीको जनशक्ति उत्पादन बढ्ने र आइटी कम्पनी खुल्ने क्रम बढेसँगै आइटी सेवा तथा वस्तु उत्पादन पनि बढेको छ । यसले गर्दा नेपालमा आइटीलाई उद्योगको रूपमा विकास गर्ने र निर्यात प्रवद्र्धन गर्ने एउटा मुख्य उत्पादनका रूपमा लिन सकिने आधार पनि निर्माण भइरहेको छ । आइटी क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न सके यो क्षेत्रबाट तुलनात्मक लाभका वस्तु तथा सेवा उत्पादन भई निर्यात प्रवद्र्धन हुने र वैदेशिक व्यापारघाटा न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।
आइटीको विश्वव्यापी प्रभावको लहर हेर्दा आर्थिक दृष्टिकोणले आइटी क्षेत्र निकै महत्वपूर्ण र प्रभावकारी देखिन्छ । आइटी सेवाअन्तर्गत कम्प्युटर र इन्टरनेटको माध्यमबाट हार्डवेयर सेवा, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन मार्केटिङलगायतका कामहरू गर्न सकिन्छ । पछिल्लो समय धेरै शिक्षित युवाले यसरी नै घरमै बसी काम गर्ने र कमाउने अवसर पाइरहेका छन् । आइटीमा अवसरको सम्भावना झन्झन् बढ्दै गइरहेको छ । पछिल्लो समय निजी क्षेत्रबाट आइटी कम्पनी स्थापना गर्ने र त्यसको वस्तु तथा सेवा आन्तरिक बजारमा बिक्री गर्नुका साथै विश्व बजारमा समेत निर्यात गर्ने प्रतिस्पर्धा बढेको सन्दर्भमा राज्यको ध्यान पनि त्यसतर्फ खिचिएको देखिन्छ । निर्यातको प्रचुर सम्भावनालाई हृदयंगम गरेर राज्यले पछिल्लो समय आइटी र बिजनेस प्रोसेस आउटसोर्सिङलाई विशेष प्राथमिकतामा राखेको पाइन्छ ।
सर्वांगीण विकास अध्ययन केन्द्रले गरेको एक अध्ययनअनुसार सन् २०२२ मा औपचारिक रूपमा करिब ६८ अर्बको आइटी सेवा निर्यात भएको देखिएको थियो । हाल औपचारिक र अनौपचारिक रूपमा त्यसको दोब्बर निर्यात भइरहेको नेपाल उद्योग परिसंघ आइटी काउन्सिलको दाबी छ । अहिले नेपालबाट आन्तरिक खपतबाहेक नै वार्षिक करिब १ खर्ब ५० अर्बको आइटी सेवा निर्यात भइरहेको बताइएको छ ।
राज्यस्तरमै अनेकौँ सेवा, सुविधा र सहुलियत प्रदान गर्दा पनि कृषि तथा औद्योगिक उत्पादनको कुल वार्षिक निर्यात नै १ खर्ब ५२ अर्बमा सीमित भइरहेको परिस्थितिमा निजी क्षेत्रको प्रयासमा वार्षिक १ खर्ब ५० अर्बको आइटी सेवा निर्यात हुनुलाई सकारात्मक र उत्साहजनक रूपमा लिनुपर्छ । आइटी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३ प्रतिशत र कुल निर्यातको जति नै योगदान गरिरहेको देखिन्छ । नेपालको आइटी सेवा विश्व महाशक्ति राष्ट्र अमेरिकादेखि भारत, चीन, अस्ट्रेलियालगायत अन्य युरोपियन मुलुकमा समेत निर्यात भइरहेको बताइएको छ ।
सर्वांगीण विकास अध्ययन केन्द्रको अध्ययनले नेपालको आइटी क्षेत्रमा झन्डै ८० हजार युवा जनशक्ति आबद्ध रहेको देखाएको छ । हार्डवेयर सेवा, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन मार्केटिङलगायतका काम गर्ने आइटीका दक्ष जनशक्तिले आकर्षक आम्दानी गरिरहेका छन् । धेरै युवा जनशक्ति नेपालमा अवसर छैन भन्दै बिदेसिन खोजिरहेको अवस्थामा आइटीमा दक्ष युवाले नेपालमै बसेर आकर्षक आम्दानी गर्न सक्ने आइटी व्यवसायीहरूले बताइरहेका छन् । यही आकर्षणले गर्दा पछिल्लो समय अन्य विषयमा भन्दा आइटीमा धेरै विद्यार्थीको आकर्षण बढेको छ । शिक्षा क्षेत्रको दिशा नै बदलिदिने यो आकर्षणले शिक्षा क्षेत्रका लगानीकर्ताहरू आइटी शिक्षातर्फ मोडिएका छन् ।
पछिल्लो समय आइटी शिक्षातर्फ विद्यार्थीको आकर्षण, शैक्षिक लगानीकर्ताहरूको लगानी आइटीतर्फ मोडिएको र आइटी सेवाको निर्यातले देशको अर्थतन्त्रमा उल्लेखनीय हिस्सा ओगटेको यथार्थलाई राज्यले पनि मनन गर्न थालेको छ । यसैको परिणामस्वरूप आइटी दशकको घोषणादेखि आइटी सेवाको निर्यात प्रवद्र्धन र यस क्षेत्रमा रोजगारीका अवसर सिर्जनासम्मका लक्ष्य र योजनाका विषयहरू मुलुकको राष्ट्रिय बजेटमै समावेश गर्न थालिएको छ ।
आइटी सेवाको उत्पादन वृद्धि र त्यसको निर्यात प्रवद्र्धनमा सघाउने कार्यलाई आर्थिक वर्ष २०८१-८२ को बजेट वक्तव्यमा प्राथमिकतामा राखिएको छ । बजेटमा नेपाललाई आइटी हबको रूपमा विकास गरिने, आइटीको क्षेत्रमा आगामी १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र ५ लाख जनशक्तिलाई प्रत्यक्ष तथा १० लाख जनशक्तिलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आइटी दशकको घोषणा गरिएको छ । साथै, आइटीलाई अर्थतन्त्रको संवाहक क्षेत्रका रूपमा स्थापित गर्ने र आइटीका नवीनतम प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गरिने र कृत्रिम बौद्धिकता (एआई) को विकास, प्रवद्र्धन र नियमनको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । यसैगरी बजेटमार्फत ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षालगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने घोषणा पनि गरिएको छ ।
यसैगरी वर्तमान समयमा आइटीको प्रभावकारिता र यसको महत्व बढ्दै गएको सन्दर्भमा सरकारले सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट नेपाललाई सूचना तथा ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्ने भावी सोच र सूचना तथा सञ्चार प्रविधिमार्फत सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने परिदृश्यसहित ‘सूचना तथा सञ्चार प्रविधि नीति २०७२’ पनि जारी गरेको छ ।
गत पुस २६ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस भएका दुई दर्जन कानुन संशोधन गर्ने चार अध्यादेशलाई राष्ट्रपतिले प्रमाणित गर्दै जारी गरेका छन् । जारी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवम् लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश’ अनुसार नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, आफ्नो कम्पनीको विदेशमा शाखा खोल्न, विदेशमा कारोबार गर्न र विदेशको आम्दानी नेपालमा ल्याउन पाउने कानुनी व्यवस्था गरेको छ । यो व्यवस्थाले नेपालको आइटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र विदेशी मुद्रा आर्जनमा वृद्धि गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।
सरकारको घोषणा तथा नीतिको प्रभावकारी कार्यान्वयन भए नेपालले आइटी क्षेत्रमा छिट्टै नै थप छलाङ मार्नेछ । केही कृषिजन्य र उद्योगजन्य सीमित वस्तुको निर्यातबाट वैदेशिक व्यापारमा सन्तुलन कायम हुन नसकिरहेको अवस्थामा आइटीलाई प्रवद्र्धन र थप आइटी सेवा निर्यात गर्न सकियो भने वैदेशिक व्यापारमा चमत्कारिक उपलब्धि हासिल हुने अपेक्षा गर्न सकिन्छ ।