तीन जना गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपतिद्वारा अध्यादेश जारी, यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश बुधबार जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
साथै, सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानुनी व्यवस्था, निर्णय प्रक्रिया सरलीकरण र स्थानीय तहमा नेतृत्व पद रिक्त भएमा अस्थायी व्यवस्थाको प्रावधानलगायत समावेश गरेर कानुन ल्याइएको बताए ।
त्यसैगरी अध्यादेशमार्फत् श्रमिकहरूको पेन्सन र अवकाश उमेरमा एकरूपता कायम गरिएको छ । साथै, गैरआवासीय नेपालीलाई सहज नागरिकता, भिसा व्यवस्था, विदेशी र घरेलु लगानीमा सहजीकरण, सामाजिक सुरक्षा व्यवस्थाको दुरुपयोग रोक्न कदम चालिएका छन् ।
यसबाहेक, आपराधिक मुद्दामा मिलापत्र प्रक्रिया र सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनलाई सरल र प्रभावकारी बनाइएको उनको भनाइ छ । विपद् व्यवस्थापन, योजना तर्जुमा, र राजस्व असुलीमा सुधारका व्यवस्था अध्यादेशमार्फत् सुनिश्चित गरिएका छन् ।
यस्तै, राष्ट्रपति पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई उक्त पदमा नियुक्त गरेका हुन् ।