अमेरिकी सैन्य आधार शिविरमा इरानद्वारा क्षेप्यास्त्र प्रहार «

अमेरिकी सैन्य आधार शिविरमा इरानद्वारा क्षेप्यास्त्र प्रहार

तेहरान-इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ ।
अमेरिकी र इरानी दुवैतर्फका अधिकारीहरूले आक्रमणको घटनाको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको बताएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले इराकस्थित आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथि इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
“इरानी पक्षले इराकस्थित कम्तीमा पनि दुईवटा अमेरिकी सैन्य आधार शिविर र गठबन्धनका कर्मचारी रहेको ठाउँलाई लक्षित गरी आक्रमण गरेको प्रस्ट छ,” पेन्टागनले भनेको छ ।
पेन्टागनका अनुसार पश्चिमी बगदादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हो ।
घटनामा परी मानवीय क्षति भए÷नभएको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले घटनास्थलमा उच्च सतर्कता अपनाएको जनाएको छ । अमेरिका र इरानले एक–अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको हो ।
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बगदादमा भएको इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
इराकको राजधानी बग्दादस्थित विमानस्थलनजिकै इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।
इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
अमेरिकी रक्षा अधिकारीहरूले आक्रमण भएको क्षेत्रमा रहेका अमेरिकी सैनिक र गठबन्धनका नागरिकको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । त्यसका लागि राष्ट्रपति ट्रम्पले सुरक्षा विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।
इराकमा अमेरिकाका ५ हजार सैनिक रहेको अधिकारीहरूले बताउने गरेका छन् । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले आक्रमण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्