लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस बुधबार सकिएको थियो । गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
लामिछानेविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।