Logo

पस्मिना अन्तर्राष्ट्रिय एक्सपो माघ १० देखि

काठमाडौं– आगामी सातादेखि काठमाडौंमा मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको छ ।

नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग संघको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्सपो गर्न थालिएको हो । यो एक्सपो माघ १० गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । मेक इन नेपाल एक्सपोमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

त्यसैगरी, नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्सपो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पस्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता तथा नीति निर्माताको सहभागिता रहने जनाइएको छ । साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुरÞ्याउने अपेक्षा गरिएको छ ।

एक्सपोमा नेपाली पस्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुर्‍याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन पुग्ने बताइएको छ । एक्सपोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरू रहने छन् जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पस्मिनाका स्टलहरू रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्