Logo

माग पूरा नभए आन्दोलन गर्ने

सरकारलाई निर्माण व्यवसायी महासंघको माघ १५ को अल्टिमेटम

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले माघ २० गते प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्माण व्यवसायीहरुले सरकारविरुद्ध चरणवद्ध रुपमा सडकमा जाने घोषणा गरेको हो ।

निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले निर्माण व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ । उक्त निर्णय बमोजिम निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि, भुक्तानी अभाव,सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता जस्ता समस्या समाधान नगरेको भन्दै आन्दोलनको घोषणा गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनितिक दलका अध्यक्षहरु, संघीय सरकारी निकाय, प्रदेश महासंघले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटम दिने बताए । उनले महासंघले आगामी माघ १८ गते काठमाडौंको माईतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरे ।

उनले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने तय भएको बताए । उनले माघ २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने बताए । उनले त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्