पाँच महिनामा आत्मनिर्भर लघुवित्तको खुद नाफा ४४ लाख बढी

दाङ– आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको पाँच महिनाको अवधिमा ४४ लाख बढी खुद नाफा गरेको छ । संस्थाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४४ लाख २५ हजार खुद नाफा गरेको हो । संस्थाको छैटौ वार्षिक साधारणसभाका अध्यक्ष मीरा चौधरीले यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार संस्थाले अघिल्ला वर्ष २०८० मंसिर मसान्तसम्म ९५ लाख ९९ हजार खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष खुद नाफा घटेको हो । यस अवधिमा संस्थाको सञ्चालक मुनाफा ७० लाख २५ हजार भएको छ भने अघिल्लो वर्ष एक करोड ५२ लाख ३७ हजार भएको थियो । संस्थाले मंसिर मसान्तसम्म १३ अर्व ३४ करोड ९१ लाख कर्जा वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा १२ अर्व १७ करोड ७२ लाख कर्जा वितरण गरेको थियो ।
पाँच महिनाको अवधिमा एक अर्ब ४६ करोड १४ लाख ६९ हजार कर्जा लगानीमा रहेको छ । अघिल्लो वर्ष एक अर्ब ३९ करोड १८ लाख कर्जा लगानी गरेको थियो । त्यसैगरेर सदस्यको बचत (निक्षेप) ८९ करोड ८३ लाख रहेको छ । अघिल्लो आर्थिक वर्ष ८१ करोड ३० लाख गरेको संस्थाले जनाएको छ । पाँच महिनाको अवधिमा संस्थाका ऋणीको संख्या १२ हजार ६५६ जना रहेका छन् । जुन अघिल्लो बर्ष १३ हजार ४१८ रहेका थिए ।
एउटै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिई कर्जाको सदुपयोग नगर्ने प्रवृत्तिबाट उत्पन्न हुने जोखिम, बैंक तथा वित्तीय संस्थाको तरलतामा संकुचन आउँदा संस्थाले प्राप्त गर्ने थोक कर्जाको वित्तीय स्रोतमा हुनसक्ने कमीबाट उत्पन्न समस्या, देशमा आकस्मिक रूपमा आउन सक्ने घटना र लघुवित्त क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारणले कर्जा अनुशासनमा नकारात्मक प्रभाव पर्न गई भाखा नाघेको कर्जाको मात्रा अत्यधिक बढने कारणले कारोबारमा असर पुग्ने गरेको अध्यक्ष चौधरीले बताइन् ।
त्यसैगरी देशको आर्थिक मौद्रिक तथा वित्तीय नीतिलगायत नेपाल बैंकले गर्ने नियमन निर्देशनको अप्रत्याशित परिवर्तनबाट हुने सिर्जनाजस्ता कारणले कारोबारमा असर पार्ने गरेको उनको भनाइ छ ।