Logo

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं- इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पास गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमासम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँनयाँ विषयमा अनुसन्धानसमेत गर्न इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाललाई निर्देशन दिए ।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका संरक्षकसमेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाइमा पुर्‍याउनका लागि आफ्नो क्षेत्रबाट मेहनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए । अध्यक्ष दहालले भने, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइने छ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीब्रता दिनुपर्छ ।’

त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे । इस्योरेन्स इन्स्टिच्युट अफ नेपालको संचालक समितिका अध्यक्ष दीपप्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थासँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रम संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिए । साधारणसभामा आईआईएनका संचालक समितिका सदस्य तथा शेयरधनी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्