सेयर धितो कर्जा १९.८ प्रतिशतले बढ्यो, कुन बैंकले कति दिए ?

काठमाडौं– अन्य क्षेत्रमा जाने कर्जा सुस्ताएको समयमा सेयर बजारतर्फको कर्जामा उल्लेख्य वृद्धि भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार, चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो राखेर प्रवाह हुने कर्जा १९.८ प्रतिशतको बढेको छ । मंसिर मसान्तसम्म मार्जिन प्रकृतिको यस्तो कर्जा बढेर १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ ।
गत असार मसान्तमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार सेयर धितोमा जाने सबै खाले कर्जा बढेको छ । जसअनुसार १ करोडभन्दा बढी आकारको कर्जा २७.३ प्रतिशतले बढेर १५ अर्ब २५ करोड ५४ लाख रुपैयाँ पुुगेको छ । सेयर धितोमा राखेर प्रवाह हुने ५० लाख देखि १ करोडसम्म मार्जिन प्रकृतिको कर्जा ११.३ प्रतिशतले बढेर १ अर्ब ४० करोड ४२ लाख रुपैयाँ विस्तार भएको छ ।
यस्तै २५ लाख देखि ५० लाख रुपैयाँसम्म गएको कर्जा ५.९ प्रतिशतले बढेर ८ करोड ५६ लाख र २५ लाख रुपैयाँसम्म जाने कर्जा ३ करोड ३६ लाख रुपैयाँ पुुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्म २० मध्ये १९ वटा बैंकले ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् । स्टयान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा जाने कर्जा दिएको छैन । १९ मध्ये सबैभन्दा धेरै कर्जा नबिल बैंकले दिएको छ ।
मंसिर मसान्तसम्म बैंकले ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कर्जा दिएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कर्जा दिएको छ । सबैभन्दा कम नेपाल एसबिआई बैंकले ४७ करोड ६८ लाख रुपैयाँ मात्रै कर्जा दिएको छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकले ७ अर्ब ९१ करोड, सिद्धार्थ बैंकले ७ अर्ब ९१ करोड, कुमारी बैंकले ६ अर्ब ८० करोड १६ लाख, प्राइम बैंकले ५ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ सेयर धितो कर्जा दिएको छ ।
यस्तै सिटिजन्स बैंकले ५ अर्ब ६८ करोड ७६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २० करोड १५ लाख रुपैयाँ मार्जिन प्रकृतिको यस्तो कर्जा प्रवाह गरेका छन् । यस्तै प्रभु बैंकले ४ अर्ब २ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ७४ करोड ६७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८ करोड ५४ लाख, एनआईसी एशिया बैंकले २ अर्ब ६५ करोड ९५ लाख, एभरेष्ट बैंकले २ अर्ब ५३ करोड सानिमा बैंकले २ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।
चालु आवको पाँच महिनामा कृषि विकास बैंकले १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गर्दा हिमालयन बैंकले १ अर्ब ८३ करोड, एनएमबि बैंकले १ अर्ब ७१ करोड २१ लाख, माच्छापुच्छ्रे बैंकले ९५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा सीमा हटाएको प्रभावस्वरुप यस्तो कर्जा बढेको जानकारहरू बताउँछन् ।
साथमा यस्तो कर्जाका लागि ब्याजदर पनि एकल अंकमा झरेकाले सहज भएको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरेको थियो । मौद्रिक नीतिले संस्थागततर्फको २० करोडको सीमा खारेज गरेपनि व्यक्तिगतको हकमा १५ करोडको सीमा यथावत छ । यो सीमालाई संशोधन गरिएमा सेयर बजारमा लगानी झनै बढ्ने जानकार बताउँछन् ।
सेयर लगानीकर्ताले व्यक्तिगत सीमा हटाउनका लागि माग गर्दै आएका छन् । बैंकहरूले सेयर बजारमातर्फ जाने कर्जालाई सहज बनाउनका लागि ब्याजदर पनि कम गरेका छन् । जसले पनि लगानीकर्तालाई कर्जा लिन सहजता भएको र आकर्षण बढेको उनीहरूको बुझाइ छ । सेयर बजारतर्फ जाने कर्जा बढेपनि सेयर बजार भने अपेक्षित गतिमा बढ्न नसकेको लगानीकर्ताहरूले बताउँदै आएका छन् ।