कर्णालीमा प्रथम प्रादेशिक मह मेला

सुर्खेत– सुर्खेतमा मंगलबारदेखि तीन दिने मह प्रदर्शनी मेला सुरु भएको छ । नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेश समितिको आयोजना तथा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा प्रादेशिक मह प्रदर्शनी मेला सुरु भएको हो । तेस्रो राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आयोजित यो नै प्रादेशस्तरको पहिलो मह प्रदर्शनी मेला हो । माघ तीन गतेसम्म चल्ने मेलाको मंगलबारदेखि औपचारीक रूपमा उद्घाटन गरिएको छ ।
मेलाको उद्घाटनका क्रममा कर्णाली सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेश अर्गानिक मह उत्पादनको हब भएको बताए । यहाँको हावा पानी अनुकूल हुनुका साथै कर्णाली प्रदेशमा विषादीको प्रयोग कम हुने भएकाले मौरी पालनको राम्रो सम्भावना रहेको मन्त्री शाहले औंल्याए । खेती बालीमा परागसेचनका लागि मौरीको भूमिका महत्त्वपूर्ण हुने भएकाले मौरी पालनबाट अन्य खेतीमा पनि टेवा पुग्ने मन्त्री शाहको भनाइ थियो ।
मौरीपालन र मह उत्पादन बढाउनका लागि कर्णाली प्रदेश सरकारले विभिन्न योजना तथा कार्यक्रम बनाएको मन्त्री शाहले जानकारी दिए । जसका लागि सात प्रदेशमध्ये अगाडि परागसेचन रणनीति निर्माण गर्नेमा कर्णाली पहिलो प्रदेश रहेको उनले दाबी गरे । उत्पादनको बजारीकरणसँगै व्यावसायिक किसानका लागि मौरी पालनसम्बन्धी जानकारी प्राप्त गर्न मेलाले सहयोग पुग्ने मन्त्री शाहको भनाइ छ । मन्त्री शाहले विविधता भएन भने पृथ्वीमा रहेका प्रणालीको अस्थित्व मेटिन सक्ने बताए ।
‘जब हामी जैविक विविधतालाई बचाउँदैनौं, हामीले लगाउने बालीको उत्पादन फरक भएर आउँछ,’ उनले भने, ‘आजभोलि वितरण गरिएको बीउ कतै उम्रिएका, कतै नउम्रिएका कुरा आउँछन् । हिजो उत्पादन हुने ठाउँमा आजभोलि त्यो फलफूल उत्पादन हुँदैन् । ती सबै जलवायु लगायतका कारणले भएका छन् । त्यसैका कारण जैविक विविधता दिवस मनाएर यसको न्यूनीकरणमा सचेतना फैलाउनु हाम्रो उद्देश्य हो ।’ साथै मन्त्री शाहले मौरीको मह अत्यन्तै पवित्र मानिने बताए । उनले मह उत्पादन किसानलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजारको सहयोग गर्ने सरकार तयार रहेको प्रतिबद्धता जनाए ।
मौरीपालन राष्ट्रिय महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले सरकारले मौरीपालन किसानका लागि बजारीकरण, व्यावसायिक उत्पादन लगायतमा गर्दै आएको सहयोग अपर्याप्त रहेको बताए । गैर व्यवसायीले मह भनेर अखाध्य वस्तु बिक्री वितरण गर्ने गरेको भन्दै त्यसको नियन्त्रणमा सरकारले उचित ध्यान दिनुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को अयोजना गरिएको मौरीपालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले जानकारी दिए ।
उनका अनुसार मेलामा ३२ वटा स्टल रहेका छन् । ती स्टलमा कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्गानिक खाद्य, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर (शुद्ध भए नभएको छुट्याउने) मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायतका सामग्री प्रदर्शनमा राखिएका छन् । कर्णालीका १० वटै जिल्लामा मौरीपालन हुन्छ । जाजरकोट, दैलेख, सुर्खेतलगायतका जिल्ला मह उत्पादनका हिसाबले राम्रो सम्भवना भएका जिल्ला हुन् ।
यस्तै हिमालमा उत्पादन हुने महलाई जडिबुटीको आौषधिजन्य महका रूपमा लिइन्छ । मेलामा कर्णाली प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, यूएसएडको जलजंगल परियोजना, लिवर्ड, हेल्भटास, सप्रिड, कृषि क्षेत्र विकास कार्यक्रम, सुन्दर नेपाल संस्था, वातावरण सुधार समाज, सोसेक, कोपिला भ्याली, सहास नेपाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र सामाजिक अध्ययन केन्द्र ललितपुर सहआयोजक रहेका छन् ।
प्रदर्शनी मेलाबाट महको बिक्री वितरणका साथै किसानलाई मौरी पालनसम्बन्धी जानकारी प्राप्त हुने अपेक्षा गरिएको महासंघ कर्णाली प्रदेशका सल्लाहकार खगेन्द्र भण्डारीले बताए । यस्तै आम मानिसलाई जैविक विविधताको महत्त्व र संरक्षणबारे पनि जानकारी हुने सल्लाहकार भण्डारीको भनाइ छ । कर्णाली प्रदेशमा वार्षिक करिब १० टन मह उत्पादन हुने महासंघको दाबी छ ।