Logo

बाह्य क्षेत्र प्रयोग गर्न ढिला नगरौं

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या अझै ज्यूँका त्यूँ छन् । कोभिड महामारीपछि अर्थतन्त्रमा देखिएका समस्या अझै हट्न सकेका छैनन्, उल्टै बढ्दै गएका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको यो वर्षको पाँच महिनाको अर्थतन्त्रका सूचकहरूले यही निराशाको बाटो देखाइरहेका छन् । अहिले आन्तरिक बजारको मागमा संकुचन आएको बेला महँगीको ग्राफ बढेर सर्वसाधारणमा समस्या थपेको छ । महँगी मंसिरमा ६.०५ प्रतिशत छ । अघिल्लो वर्ष मंसिरमा मुद्रास्फीति ४.९५ प्रतिशत थियो ।

यो वर्ष मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत छ । अघिल्लो वर्ष यो क्रमश: ५ र ४.९२ प्रतिशतले बढेको थियो । केही वर्षदेखि खुम्चिँदै आएको निर्यात व्यापारमा अहिले केही सुधार आएको छ । मंसिरसम्ममा कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेर ७३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्ष निर्यात ६.१ प्रतिशतले घटेको थियो । यस्तै कुल वस्तु आयात पाँच महिनामा ३ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ ।

गत वर्ष आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । यो पाँच महिनासम्ममा मुलुकको वैदेशिक व्यापारमा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले बढेको छ । मंसिरसम्ममा ५ खर्ब ८७ अर्ब ८३ करोड वस्तु व्यापार घाटा पुगेको छ । अघिल्लो वर्ष घाटा ३.१ प्रतिशतले घटेको थियो । अहिले निर्यात–आयात अनुपात ११.१ प्रतिशत छ । अघिल्लो वर्ष यो ९.८ प्रतिशत थियो । वैदेशिक वस्तु व्यापार हेर्दा भारत र चीनतर्फको निर्यात क्रमश: २३.७ र ६८.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ १.२ प्रतिशतले कमी आएको छ ।

सबैभन्दा धेरै व्यापारिक कारोबार हुने मुलुकहरू (चीन र भारत) मै निर्यात बढ्नुले आगामी दिनमा यसको नतिजा राम्रो हुने संकेत गरेको छ । यो वर्ष मुलुकबाट सोयाबिन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचालगायतका वस्तुको निर्यात बढाउन सकिएको छ । तर, यही बेला पाम तेल, जिंक सिट, अदुवा, तयारी पोसाक, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ । यस्तै भारत र चीनबाट हुने आयात क्रमश: ४ र ४.६ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट भएको आयातमा १.८ प्रतिशतले कमी आएको छ ।

हामीले यातायात उपकरण, सवारी साधन तथा सवारी साधनका स्पेयर पार्ट्स, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेललगायतका वस्तु धेरै आयात गरेका छौँ । यस्तै पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रालगायतका वस्तुको आयात घटेको छ । सुस्त अर्थतन्त्रका कारण सर्वसाधारणको आयस्रोत खुम्चिएको भनिए पनि भ्रमण व्ययमा भएको खर्चले सबै नागरिकलाई अर्थतन्त्रले प्रभाव नपारेको देखिन्छ । मंसिरसम्ममा भ्रमण व्यय १२.२ प्रतिशतले बढेको छ । पाँच महिनामा ८५ अर्ब १ करोड भ्रमण व्यय हुन पुगेको छ ।

शिक्षातर्फको व्ययमात्र ४७ अर्ब ४१ करोड छ । भ्रमण व्ययको तुलनामा भ्रमण आय भने जम्मा ३.१ प्रतिशतले बढेको छ । यस्तो आयबाट ३५ अर्ब १९ करोड मात्र आम्दानी भएको छ । पछिल्ला केही वर्षदेखि निरन्तर बढ्दै आएको रेमिटेन्स आय मंसिरसम्ममा ४.४ प्रतिशतले बढेको छ । कुल वस्तु व्यापार घाटा भन्दा रेमिटेन्स आय धेरै छ । अहिलेसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रेमिटेन्स आएको छ । गत वर्ष भने २४.२ प्रतिशतले रेमिटेन्स बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा पनि यो वर्ष रेमिटेन्सको वृद्धिदर खुम्चिएको छ ।

मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) र पुन: श्रम स्वीकृति लिने ३ लाख २५ हजार ८ सय ९ जना छन् । गत वर्ष दुवै गरी २ लाख ७४ हजार ५ सय १७ जना थिए । मंसिरसम्ममा चालु खाता १४० अर्ब ७१ करोड र शोधनान्तर स्थिति २२५ अर्ब ३४ करोडले बचतमा छन् । कुल विदेशी विनिमय सञ्चिति गत असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेकोमा मंसिरसम्ममा आउँदा ११.४ प्रतिशतले बढेर २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ ।

यो वर्षको पाँच महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सञ्चिति पर्याप्त छ । विगतमा जस्तै अर्थतन्त्रको बाह्य क्षेत्र अहिले पनि क्रमश: मजबुत बन्दै गएको छ । तर, अर्थतन्त्रको आन्तरिक पाटो उसैगरी भताभुङ्ग बन्दै छ । अर्थतन्त्रको सबल पक्षलाई प्रयोगमा ल्याएर दुर्बल पक्षको उपचार खोज्ने काममा ढिलाइ भएको छ । सरकारमा बस्नेहरूले भाषणभन्दा यसतर्फ ध्यान दिए मात्र आगामी दिन सुखमय बन्नेछन् । नत्र अवस्था फेरिन धेरै समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्