Logo

धान उत्पादनमा प्रगतिः आत्मनिर्भर बन्ने अवसर

यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । पछिल्लो अद्यावधिक तथ्यांकअनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४.०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो । समयमै मनसुन भित्रिँदा रोपाइँ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, उन्नत जातको बीउलगायतका कारणले यस वर्ष धानको उत्पादन बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान बालीको उत्पादन अनुमान गरेभन्दा बढी भएको जनाएको छ । उसका अनुसार यस वर्ष धान बाली लगाएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको जानकारी मन्त्रालयले दिएको छ ।

बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यो गएको वर्षको तुलनामा १.२८ प्रतिशत कम हो । त्यस्तै औसत उत्पादकत्व पनि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगी अहिलेसम्मको उच्च बिन्दु कायम हुन पुगेको उल्लेख छ । चैते र बर्खे दुवै धानको उत्पादकत्व र उत्पादन बढेको छ । तथ्यांकअनुसार यस वर्ष चारवटा प्रदेशमा धानको उत्पादन बढेको छ भने तीनवटा प्रदेशमा घटेको छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको हो । तर गण्डकी, बागमती र कर्णाली प्रदेशमा उत्पादन घटेको छ ।

रुकुम पश्चिममा धान बाली लगाइएको क्षेत्रफलमा कमी आएकाले कर्णालीमा धानको उत्पादन घटेको, नवलपरासी (पूर्व) को केही भागमा बर्खे धानको बाला नलाग्ने समस्या देखिँदा उत्पादनमा केही कमी आएको र लमजुङमा धान बाली लगाएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा गण्डकीमा उत्पादन कम भएको कृषि मन्त्रालयले जनाएको छ । बागमतीसहित देशका केही ठाउँमा गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगेको थियो । अविरल वर्षा, कतै–कतै रोगकीराको समस्या भए पनि समग्रमा धानको उत्पादन बढेको छ ।

यो सकारात्मक र देशवासीका लागि खुसीको सन्देश हो । रोजगारीको अभाव र जीवन धान्न नसक्ने दैनिकीले गर्दा विदेश पलायन भएको जनसंख्याको अभाव हुँदा पनि र गर्नेको संख्या कम हुँदा पनि धानको उत्पादन बढ्नु चानचुने कुरो होइन । किनकि धान विश्वको एक प्रमुख अन्न बाली हो । हजारौँ वर्षअघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धान रोपिने क्षेत्रका आधारमा विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्छ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत हुन्छ । संसारभरि १ सय ५० मिलियनभन्दा धेरै ठाउँमा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान क्षेत्रले ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिस चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ पनि हो । सम्भवतः १० हजार वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानखेतीको सुरुवात भयो । चामल विश्वका जनसंख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसको मुख्य खाद्य हो । विश्वका १ सय १७ देशमा धानको खेती गरिन्छ, जसमध्ये नेपाल बढी धान उत्पादन गर्ने देशको १६ औँ नम्बरमा पर्छ ।

पुरातन कालदेखि नेपालीको मुख्य पेसा कृषि नै हो र अहिले पनि ६२ प्रतिशत परिवार कृषिसँग जोडिएको छ । गोपालवंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो । गोपालवंशको समयमा प्रारम्भ भएको कृषि प्रणाली किराँत तथा लिच्छविकालमा विकसित हुँदै गएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि कृषि क्षेत्रमा पनि केही परिवर्तन गरेका थिए । यसरी हामी देख्छौँ कि हाम्रो कृषि प्रणालीको विकास प्राचीनकालदेखि नै हुँदै आएको छ, कृषकको मेहनतको फलले । नेपालका कृषक लगनशील, स्वाभिमानी, जागरुक भएको कृषिको ऐतिहासिक वर्णनले प्रमाणित गर्छ । अर्कातिर हेर्ने हो भने राज्यको नीति, कार्यक्रम र सुधारका प्रयास निरर्थक रहनुले कृषि क्षेत्रको अप्रगतिशीलता प्रस्ट हुन्छ । हामीले आफ्नो बलले भन्दा पनि अरूले बनाइदिएको चिजमा मक्ख पर्दाको परिणाम अहिले कृषि क्षेत्रको योगदान अर्थतन्त्रमा ऋणात्मक बन्न पुगेको मात्र हो, सम्भावना नभएको भने होइन ।

कृषि गणना, २०७८ अनुसार ५४.५ प्रतिशत खेतीयोग्य भूमिमा मात्र सिँचाइ सुविधा पुगेको छ । ११.७ प्रतिशत कृषकले कृषि प्रयोजनका लागि ऋण लिएका छन् । २६ प्रतिशत कृषक परिवारले कृषिबाहेकका अन्य क्रियाकलाप गर्ने उक्त गणनाले उल्लेख गरेको छ । देशमा सबैभन्दा बढी उत्पादन हुने बालीमा क्रमशः धान, गहुँ र मकै छन् । उता नेपालमा कृषक परिवारको संख्या बढ्दा पनि खेती गरिने जग्गाको क्षेत्रफलमा कमी आउनु र युवा जनसंख्याको कृषिमा आकर्षण कम हुनुको प्रभाव दीर्घकालसम्म पर्न सक्ने जनसंख्या विज्ञहरूले बताएका छन् । कृषि क्षेत्रमा कमी आउनुमा ग्रामीण क्षेत्रमा बसोबास घट्नु, वैदेशिक रोजगारीका कारण खेती गर्न छाड्नु र सहरबजार विस्तार हुँदा खेतीयोग्य जमिनमा घर तथा भवन बन्नुलाई लिइएको छ । कृषि क्षेत्रमा प्रत्यक्ष सामेल हुने युवा पुस्ताको जनसंख्या कम हुँदै जाँदा कृषिकार्य कम हुँदै गएको हो । तसर्थ, खेती हुने क्षेत्रफल घट्नु र युवा पुस्ताको कृषिमा आकर्षण नदेखिनु भनेको सकारात्मक कुरा होइन । तर, कृषि क्षेत्रमा देखिने गरी केही काम भने अवश्य भएका छन् । देश अन्डा तथा कुखुराको मासुमा आत्मनिर्भर उन्मुख छ, केही कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन्, बाख्रापालन, गाई तथा भैँसीपालनमा केही प्रगति भएको छ । तर यति कार्यलाई हेरेर समग्र कृषिको विकास र विस्तार हुन सक्दैन । हामीले मुख्य बालीलाई नै महत्व र ध्यान पुर्‍याउनु आवश्यक छ ।

सन् १९६१ मा विश्वमा २१ करोड ५६ लाख ४६ हजार ६ सय २७ टन धान फलेको थियो भने सन् २०२२ मा ७७ करोड ६४ लाख ६१ हजार ४ सय ५७ टन धान फलेको थियो । सन् ०२३÷२४ को अनुमान ५२३.९ मिलियन मेट्रिक टन धान उत्पादन रहेको छ । हालको विश्वव्यापी चामल उत्पादन वार्षिक करिब ५ सय २० मिलियन मेट्रिक टन रहेको छ । यसको मतलब विश्वव्यापी उत्पादन अनुमानित वार्षिक माग पूरा गर्न पर्याप्त छ । तर, विश्व भोकमरी, खाद्य असुरक्षा, न्यून पोषणबाट ग्रस्त छ । यसका कारणहरू छन्— असमान वितरण, गरिबी र खाद्यको बर्बादीका कारण पर्याप्त खाद्यान्न उत्पादन भए पनि विश्वव्यापी भोकमरी कायमै छ । धेरै मानिसको तार्किक चुनौती, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण किफायती खानामा पहुँचको अभाव छ । जलवायु परिवर्तन, कमजोर स्रोत व्यवस्थापन र आर्थिक झट्काले खाद्य प्रणालीलाई थप बाधा पुर्‍याएको छ । साथै, तीव्र जनसंख्या वृद्धिले स्रोतहरूलाई दबाब बढाएको छ । अझ भन्नुपर्दा उत्पादन र उपभोगको क्रममा महत्वपूर्ण खाद्यान्नमा हानि पुगेको छ । भोकविरुद्ध लड्न, हामीलाई दिगो र समावेशी खाद्य प्रणाली सुनिश्चित गर्न समन्यायिक खाद्य वितरण, गरिबी न्यूनीकरण, अपशिष्ट न्यूनीकरण, जलवायु–उत्थानशील कृषि र राम्रो स्रोत व्यवस्थापन आवश्यक छ । अनि मात्र हामी खाद्य सुरक्षित अवस्थामा पुग्न सक्छौँ ।

२०२२ एनडिएचएस र ग्लोबल फुड पोलिसी रिपोर्ट (२०२३) ले नेपालमा गम्भीर खाद्य असुरक्षा र कुपोषण देखाएको छ । ४१ प्रतिशत जनसंख्याले न्यूनतम आवश्यक खाद्यान्नभन्दा कम उपभोग गरेका छन् र ३४ जिल्लाले खाद्य अभावको सामना गरिरहेका छन् । वार्षिक रूपमा, देशले ९ मिलियन मेट्रिक टन खाद्यान्नको माग गर्छ तर ५ मिलियन मेट्रिक टनको अभाव झेलिरहेको छ । १५ प्रतिशत बालबालिका कुपोषणबाट गुज्रिरहेका छन् । ३६ प्रतिशत पुड्कोपना र ३०.१ प्रतिशत कम तौलबाट ग्रस्त छन् भने ४३–५९ प्रतिशत रक्तअल्पताको सामना गरिरहेका छन् । पाँच वर्षमुनिका बालबालिकामा २५ प्रतिशत पुड्को, ८ प्रतिशत बेकार, १९ प्रतिशत कम तौल र १ प्रतिशत बढी तौल रहेका छन् । स्तनपान गर्ने अभ्यासहरू मिश्रित छन्, ५६ प्रतिशत विशेष रूपमा ६ महिनामुनिका बालबालिकामा स्तनपान छ । तर ६९ प्रतिशत ६–२३ महिनाका बालबालिकाले अस्वस्थ खाना उपभोग गरिरहेका छन् । रक्तअल्पताले ६–५९ महिना उमेरका ४३ प्रतिशत बालबालिका र ३४ प्रतिशत महिलालाई असर गरेको छ । तराईको पारिस्थितिक क्षेत्रमा मधेस प्रदेश ५२ प्रतिशतमा सबैभन्दा बढी प्रभावित छ । थप रूपमा, १३ प्रतिशत जनसंख्याले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । देशको जनसांख्यिकीय र गतिविधिको स्तरलाई ध्यानमा राख्दै आधारभूत पोषण आवश्यकताका लागि सिफारिस गरिएअनुसार प्रतिव्यक्ति औसत आहार आवश्यकता प्रतिदिन लगभग २१ सयदेखि २३ सय किलो क्यालोरी छ । यो प्रतिव्यक्ति प्रतिवर्ष लगभग ७ लाख ६५ हजारदेखि ८ लाख ४० हजार किलो क्यालोरी बराबर हुन्छ ।

नेपालमा आव २०२३-२४ मा धान उत्पादन ४.३७ प्रतिशतले बढेर ५७ लाख २० हजार टन पुगेको छ । यो वृद्धिका बाबजुद आन्तरिक उत्पादन राष्ट्रिय मागको तुलनामा कम छ, जुन वार्षिक ७.१ मिलियन टनभन्दा बढी छ । नेपालले उत्पादन र उपभोगबीचको खाडल पूरा गर्न प्रत्येक वर्ष करिब १७ लाख टन चामल आयात गर्ने गरेको छ । सरकारले सन् २०२८ सम्ममा वार्षिक ७८ लाख टन धान उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्यमा पुग्नका लागि सुधारिएको बीउको प्रयोग, रासायनिक मलको उपलब्धता सुनिश्चित गरी विभिन्न जिल्लामा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरी उत्पादकत्व वृद्धि गर्ने प्रयास भइरहेको छ । यसका लागि आयातमा निर्भरता कम गर्नुपर्ने देखिएको छ ।

स्पष्ट के छ भने मुलुक कृषिप्रधान नामले अझै पनि जपिनु तर कृषि, कृषक अनि कृषि उपजतर्फ ध्यान नपुग्नु आफैँमा आश्चर्यजनक छ । युवालाई गाउँमै बस्ने र गरी खाने वातावरण निर्माण गर्न हामी चुकिरहेका छौँ । गाउँका जनतालाई सीप र ठाउँ चाहिएको छ, जुन कुरा हामी लत्याइरहेका छौँ । युवालाई गाउँमै बसूँबसूँ लाग्ने बनाउन नसक्नु वर्तमानको ठूलो भूल भएको छ । नेपाली जनताको टाउकोमा ऋणको भार थुपार्दै जाने परिपाटी बढिरहेको छ । कृषि क्षेत्रलाई कुनामा पु्र्‍याइएको छ । जसले हामी झनै गरिब बन्दै गइरहेका छौँ । नाममात्रको कृषक र कृषि परिवार भनिरहेका छौँ । उत्पादनमा सरकारले आँट र सहयोग नगर्नाले उत्पादनमुखी गतिविधि ठप्प प्रायः बन्दै गएका छन्, विपरीत देखासिकीको व्यापारले जग हाल्न पुगेको छ । खेतबारीमा घडेरी प्लटिङ, डाँडामा भ्युटावर, खोलाखोल्सामा चरम दोहन, वनविनाश, भएका सीमित बजेट रकम भ्युटावर, स्वागत गेट, भीमकाय मूर्ति–मन्दिर र डोजरे विकासमा खर्च हुँदा उपलब्धि शून्य बनेका छन् । उता देश बनाउने कृषि उपेक्षामा परेको छ । तसर्थ धानमा आत्मनिर्भर हामी २०२८ मा हुने भनिरहेका छौँ, नपुग्ने कुरै छैन, तर त्यसको दिगोपनामा हामीले प्रत्येक सेकेन्डमा ध्यान दिन सक्यौँ भने विश्वको नजर हामीमा पुनः फर्कने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्