नेपाल क्लियरिङ हाउसको १३औं वार्षिक साधारण सभा

काठमाडौं– नेपाल क्लियरिङ हाउसले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यसपछि एनसिएचएलको चुक्ता पुँजी १ अर्ब २६ करोड ८२ लाख हुनेछ साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्विच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ ।
आर्थिक वर्ष २०८०/०८१ म कम्पनीबाट फर्छौट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । उक्त आर्थिक वर्षमा एनसिएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबारहरू राफसाफ भएको थियो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालक निर्विरोध रुपमा पुन: निर्वाचित गरेको छ । वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसिएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका सृजन मल्ल पुन: निर्वाचित भएका छन् ।
एनसिएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमश: १/१ जना रहेका छन् । एनसिएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।