काठमाडौंको कुलेश्वरमा मुक्तिनाथ

मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका–१४ कालिमाटी, कुलेश्वरमा रहेको शाखाको बुधबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गरेका छन् । उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले गरेका ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले स्वागत मन्तव्यसहित बैंकको अवस्था र भावी योजनाका बारेमा मन्तव्य राखेका थिए । आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई आभार व्यक्त गरेका थिए । सोही अवसरमा उनले विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरूलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको योगदानको चर्चा गरेका थिए । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागू गर्नुपर्नेमा जोड दिएका थिए ।