आइसिएफसी फाइनान्सले ऋणपत्र बिक्री गर्ने

काठमाडौं– आइसिएफसी फाइनान्सले माघ ९ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ’९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रूपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये १८ करोड रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रूपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ २३ गतेसम्म लम्बिनेछ । केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रिपल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।