ज्योति विकास बैंकका पाँच सञ्चालक निर्वाचित

काठमाडौं– ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, साधारण सभाले बैंकको संस्थापक सेयरधनी समूहको तर्फबाट हरि चन्द्र खड्का, रामकुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । बैंकको हालको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रूपैयाँ रहेको छ ।