सिन्धुलीमा अन्तरिक्षसम्बन्धी तालिम

सिन्धुलीको न्यू इंग्लिस बोर्डिङ स्कुलमा बुधबारदेखि अन्तरिक्षसँगै जोडिएका विभिन्न प्रयोग सम्बन्धित कार्यशाला सुरु भएको छ । जापानको कुसु इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपालको पहिलो नानो भू–उपग्रह बनाउने आभार मास्के र हरिराम श्रेष्ठको विशेष पहलमा यो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक दिबोध लामिछानेले बताए । कार्यशाला शनिबारसम्म जारी हुनेछ ।
कार्यशालामा क्यान स्याट अर्थात् सस्तो भूउपग्रह, रकेट विज्ञान, दूर दर्शक यन्त्र, रोबोट, ग्राउन्ड स्टेसन सम्बन्धित कार्य विद्यार्थी भाइबहिनीहरुलाई आफ्नै हातले बनाउन सिकाइने यस कार्यक्रमको उद्देश्य रहेको विद्यालयका प्रधानाध्यापक प्रशान्त ढकालले बताए । ढकालका अनुसार किताबमा रहेको ज्ञान र शुत्रहरुलाई व्यावहारिक रुपमा उतार्न यस कार्यक्रमको आयोजना गरिएको हो । अन्तरिक्ष विज्ञानमा भविष्यमा के गर्न सकिन्छ भनेर विद्यालय स्तर बाट बुझाउन लागिएको हो ।
जापनका अन्तरिक्ष प्रतिनिधि पिएचडी गर्दै गरेका आभास मास्केका अनुसार संसारमा कसरी विद्यालयस्तरबाट सेटलाइट बनाउन सकिन्छ, कसरी आकाशमा उडिरहेका स्याटलाइटले काम गर्छन भन्ने कुरा विद्यालयको कक्षा कोठा भित्र रहि विद्यार्थी भाइबहिनीहरुलाई सिकाउनु यस कार्यक्रमको मूल उद्देश्य हो । उनका अनुसार सानो सेटलाइट रेड बुलको बट्टामा अट्ने हुन्छन् । वाटर रकेट मार्फत क्यानस्याटलाई ४ हजार फिटभन्दा माथि उडाइ, प्यारासुट मार्फत जमिनमा अवतरण गराइने छ । पोर्टेबेल ग्राउन्डस्टोल लगाइ आकाशमा उडिरहेका भू उपग्रहहरुसँग सम्पर्क गर्न सकिन्छ । यस तालिम र कार्यशालामार्फत स्पेश लर्निङ रोबोटिक्स, रकेट साइन्ससम्बन्धि विद्यार्थीहरुलाई अवगत गराइनेछ ।
कार्यक्रम काठमाडौँस्थित क्याथफोर्ड इञ्जिनियरिङ कलेज को रोवोक्याट क्लव, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सहकार्यमा कमलामाई नगरपालिका सिन्धुलीको विशेष सहयोगमा न्यू इङ्गलिस सेकेन्डरी बोडिङ्ग स्कुलमा आयोजना गर्न लागिएको हो । अन्तरिक्ष सम्बन्धी कार्यशाला शैक्षिक अभियन्ता तथा समाजसेवी अमरदिप देवकोटाले उद्घाटन गरिन् ।