विनोद चौधरीको क्षेत्रका स्थानीयको गुनासो
हाइप्रोफाइल सांसदलाई देख्न र सम्पर्क गर्नै नपाइने

बुटवल– दुई वर्षअघि २०७९ मंसिरमा विनोद चौधरी नेपाली कांग्रेसको उम्मेदवार बनेर नवलपरासी क्षेत्र नम्बर १ मा मत माग्दै पुगेका थिए । स्थानीयसँग परिचित र घुलमिल नभए पनि प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपको मालिक र नेपालकै धनाड्य विनोद चौधरीप्रति मतादाताले धेरै आशा गरेका थिए । चुनाव जितेर उनी प्रतिनिधिसभा सदस्य पनि भए । तर चौधरीको निर्वाचन क्षेत्रका मतदाता र नागरिकले दुई वर्षमा आफ्नो गाउँठाउँका समस्यामा केही सुधार नभएको गुनासो गरेका छन् ।
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका बेलाटारीका हिरालाल गुप्ताले सांसद चौधरीप्रति धेरै नै आशा गरेको तर अहिलेसम्म निराश भएको सुनाए । ‘उहाँसँग हाम्रो धेरै आकांक्षा थियो । सिजीजस्तै हाम्रो क्षेत्रमा विकास गर्नुहोला, नवलपुरको जस्तै उद्योगग्राम यो ठाउँमा पनि बनाउनुहोला भन्ने लागेको थियो,’ उनले भने, ‘यहाँ पर्याप्त रोजगारी सिर्जना होला भन्ने सोंचेर हामीले भोट दिएको हो । अहिलेसम्म केही काम देखिएको छैन ।’
हुलाकी सडकअन्तर्गत बर्दघाट नगरपालिकाको नारायण चोकदेखि त्रिवेणीसम्म १६ किलोमिटर सडक निर्माण वर्षौंदेखि अलपत्र छ । अलपत्र सडकले सरकार र सांसद चौधरीप्रति आक्रोश बढाएको छ । २०७६ सालमा सुरु भएको सडक मर्मतको कामको गति सुस्त हुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । सडक नबन्दा धुलो खाइरहनु परेको हिरालाल गुप्ता बताउँछन् । ‘यही बाटो बनाउन पनि चुनावको बेलामा अहिलेका सांसदले आश्वासन दिएका थिए । अहिलेसम्म हामीले धुलो खाइरहेका छौं,’ उनले भने, ‘उहाँ जितेर आएर पनि केही काम भएको छैन ।’
बेलाटारीकै पंचरकटी टोल बस्ने सुरेन्द्र शर्माले आफ्ना सांसदलाई भेट्न प्रधानमन्त्री र राष्ट्रपतिलाई देख्न जत्तिकै गाह्रो भएको सुनाए । ‘आमजनताले प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेट्न र कुरा गर्ने मौका पाउँदैनन् नि । हाम्रो सांसद विनोद चौधरी पनि प्रधानमन्त्री र राष्ट्रपतिभन्दा कम हुनुहुन्न रहेछ,’ उनले भने, ‘प्रधानमन्त्री र ठूला नेताको क्षेत्रमा जनताले भेट्न नपाए पनि विकास त हुन्छ । तर हाम्रोमा न सांसद देख्न पाइन्छ, न त विकास निर्माण देखिएको छ । हाइप्रोफाइल सांसद पर्दा गाह्रो हुने रहेछ ।’ नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को दक्षिण भेग कृषि भूमि हो । दक्षिण भेगको प्रतापपुर र सुस्ता गाउँपालिकामा उखुँ र केराखेती बढी हुने गर्दछ ।
स्थानीय सुरेन्द्र शर्माले कृषिमा पनि सांसद चौधरीसँग धेरै आशा गरेको उल्लेख गरे । ‘यो कृषिप्रधान ठाउँ हो । कृषि प्रधान ठाउँमा राम्रो सिँचाइ होला, बाटोघाटोको व्यवस्था हुन्छ भन्ने अपेक्षा थियो । पुराना नहर बन्द भएका पुरिएका छन् । तिनीहरू सफा गरिएको छैन,’ उनले भने । सांसद चौधरीबाट चुनावको बेला केरा कृषकले पनि आश्वासन पाएका थिए । चौधरीले केराको चिप्स उद्योग खोल्ने भन्दै सुस्ता गाउँपालिका–३ श्रीनगरमा जग्गा किनेर शिलान्याससमेत गरेका थिए ।
केरा उत्पादक संघ नवलपरासी पश्चिमका अध्यक्ष लख्खुप्रसाद यादवले चौधरीले त्यसबेला चुनाव जित्ने बहानामात्र बनाएको बताए । ‘शिलान्यासको बेला उद्योगलाई चुनावी मोहोरा नबनाउनुहोला किसानको वास्तविक मर्म बुझ्नुुहुन्छ भने मात्र उद्योग खोल्नुहोला भनेर मैले भनेको थिएँ ।’ उनले भने, ‘केराको लागि सहयोग हुन्छ भनेर लागिपरेका थियौं । तर कुनै परिवर्तन भएन । उहाँले अब उद्योग बनाउने वाला हुनुहुन्न ।’
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले सांसद चौधरीबाट नागरिकले धेरै अपेक्षा गरेको त्यसअनुसार नभएको उल्लेख गरे । ‘स्वाभाविक रूपमा जनताको अपेक्षा पनि धेरै थियो । त्यो अपेक्षाकृत काम नहुँदा जनतामा थोरै निराशा उत्पन्न भइरहेको छ,’ उनले भने, ‘नारायणचोकदेखि त्रिवेणी सडक उहिलेदेखि अलपत्र छ । यो सडकले पनि माननिय विनोद चौधरीसहित हामी सबै जनप्रतिनिधिलाई गिजाइरहेको छ ।’
गाउँपालिका अध्यक्ष यादवले बाटोको सम्बन्धमा संघीय सांसदसहित केन्द्रीय निकायमा पटकपटक ध्यानाकर्षण गराएको सुनाए । ‘हामीले प्रयास गर्छौं भन्नुहुन्छ । तर त्यो प्रयासले ग्राउण्डमा रिजल्ट देखिएको छैन,’ उनले भने । नागरिकले संघीय सांसदलाई सहज रूपमा भेट्न र सम्पर्क गर्न नपाउँदा गाउँपालिकामा धेरै गुनासो आउने गरेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले सुनाए ।