Logo

सटरमै उपभोग्य वस्तुको उत्पादन र बिक्री

सिमरा (बारा)- बाराका व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुका सामान उपभोक्ताले देख्ने गरी सटरमै उत्पादन गरी बिक्री गर्ने कार्य सुरु गर्न थालेका छन् । ताजा र अर्गानिक उत्पादनमा उपभोक्ताको रुचि बढेसँगै सानो मूल्यका अटोमेटिक स्मार्ट घरेलु मेशिनको सहयोगबाट उपभोक्ताले त्यस्तो कार्य गर्न थालेका हुन् ।

व्यवसायीहरुले अरुको उत्पादन कमिशनमा बिक्री गर्न छाडेर सटरमै सानो प्रकृतिको मेशिनबाट दैनिक उपभोगका सामानको उत्पादन तथा बिक्री गर्ने कार्य सुरु गरेका हुन् । दुईदेखि तीन जनासम्म जनशक्तिले उत्पादन देखि बिक्रीसम्मको प्रक्रिया सामान्य लागतमै गर्ने, उपभोक्तालाई सस्तो पर्ने, बिक्री अनुसारको कच्चा पदार्थ स्टक गरे पुग्ने, तथा प्रत्येक दिन बिक्री हुने हुँदा सटर नै उपभोग्य सामग्रीको उत्पादन र बिक्री कक्ष बनेको हो ।

प्रशोधित पिउने पानी, तयारी चाउचाउ, धुलो मसला, घिउ, तेल, बेकरी, दाना, टमाटर सस, दालमोठ, भुजिया, बिस्कुट, मिठाइ, दही, चामल, दाल, पनिर, नौनी, गेडागुडीसमेत उपभोक्ताकै अगाडि प्रत्यक्ष उत्पादन हुने गरेको छ । दिविसा खादान्न सप्लार्यस सिमराका सञ्चालक राम अधिकारीले सटरमा अन्य उत्पादन राखेर गरेको बिक्रीभन्दा आफूले उपभोक्ताकै अगाडि उत्पादन गरेको वस्तुमा विश्बास र बिक्री बढेको बताए ।

उनले यो प्रक्रियाबाट व्यापार गर्दा आफूलाई नाफा बढ्ने उपभोक्तालाई सस्तो पर्ने जिकिर गरे । उपभोक्ताले आफनै अगाडि उत्पादित वस्तुमा रुचि बढाएको कारण आकर्षण बढेको व्यवसायीहरुको भनाइ छ । जिल्लाको सिमरा, निजगढ, जितपुर, कोल्हबी, डुमरवानालगायतका बजारको सटरमा उपभोक्ता मैत्रि मेशिनसहितको पसलमा व्यापार बढ्न थालेको जितपुर–सिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए ।

उनले दैनिक उपभोग्य सामान बिक्री गर्ने सबै बजारको सटरमा उपभोक्ताको सन्तुष्टिका लागी साना मेशिनबाट ताजा उत्पादन दिने भएपछि विश्वास र सन्तुष्टि बढेको बताए । दैनिक उपभोग्य समानमा बढ्दो मिसावट, सरकारी निकायको कमजोर अनुगमनबाट दिक्क बनेका उपभोक्ताले आफैले देखेको उत्पादनमा आर्कषण बढाएपछि सटर साना उद्योगको उत्पादन र प्रर्दशनी कक्ष बनेको हो ।

डुमरबानाका क्लासिक क्याफेका सञ्चालक काशी पराजुलीले ग्राहककै अगाडि आफैले ताजा बेकरी उत्पादन गरी बिक्री गर्ने गरेका छन् । उनले अन्यको उत्पादनमा थोरै कमिसन, ग्राहकमा विश्वासको संकट, जोखिम धेरै देखेपछि क्याफेका ग्राहकलाई सानो मेसिनबाट आफैले उत्पादन गरी बिक्री गर्न थालेका बताए । कफी तथा बेकरी उत्पादनका मेशिनमा १० लाख खर्च गरेका पराजुलीले क्याफेमा कफी र बेकरीको दैनिक ७ देखि १० हजारसम्म बिक्री गर्ने गरेको बताए ।

पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने नक्कली खाद्य वस्तु बजारमा बढेसँगै उपभोक्ता सचेत बनेकोले सटरमै उत्पादन दिन थालेपछि ताजा पाइने भएकोले पोका तथा शिलबन्दीमा आकर्षण घटेका स्थानीय संजय केसीले बताए । दैनिक उत्पादन भएका उपभोग्य वस्तु शिलबन्दी तथा प्याक नहुने भएपछि तत्कालै प्रयोग हुँदा पूर्ण स्वस्थ्यवद्र्धक हुने चिकित्सक प्रकाश शाहले बताए ।

संघीय संरचना लागु भएपछि स्थानीय सरकारसँग गुणस्तर मापदण्ड चेकजाँच प्रयोगमा आएको पाइँदैन । तर, सटरमा उद्यम गर्नेहरुले सबै खाले कर प्रणालीमा सहभागी भएकाले स्थानीय सरकारले त्यस्ता व्यवसाय प्रवर्द्धन गर्न लाग्नु पर्ने अध्यक्ष शर्माको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्