Logo

विदेशी बजारमा कर्णालीको अदुवा

वीरेन्द्रनगर (सुर्खेत)– कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवा उत्पादनलाई पनि वृद्धि गर्न थालेका हुन् । अदुवासँगै यहाँ उत्पादन भएको बेसार पनि विदेश निर्यात हुन थालेको छ ।

किसानले उत्पादन गरेको अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिका– ५ कालिदमारमा रहेको अदुवा प्रशोधन उद्योगले विदेशसम्म निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । यसकारण पनि यो उद्योगले किसानबाट खरिद गरिएको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको हो । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो ।

तर कालिदमारस्थित द अर्गानिक भ्यालीमा रहेको अदुवा प्रशोधन उद्योगले अदुवा र बेसारलाई प्रशोधन गर्न थालेपछि विदेशमा बढी निर्यात हुन थालेको हो । कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा विषादीरहित, अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपबाट यसको माग बढी भइरहेको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् । विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएको भन्दै उनले किसानलाई उत्पादन बढाउनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘बिक्रीको समस्या छैन, हामीले विदेशसम्म निर्यात गर्न थालेका छौं । किसानको उत्पादनलाई हामी खरिद गरिदिन्छौं, बरु अब उत्पादन बढाउनुपर्छ ।’ उद्योगमा बर्सेनि १५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । उद्योगमा हाल १२ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटनसम्म बेसार प्रशोधन हुने गरेको छ । ‘कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुन्छ’ उनले भने,‘हामीले प्रशोधन गरेको अदुवा र बेसारमा विदेशीको विश्वास बढ्दो छ, विषादीरहित शुद्ध उत्पादन भएकाले पनि युरोपबाट माग धेरै आइरहेको छ ।’

एक हजार ४ सय भन्दा बढी अदुवा उत्पादन किसानहरु उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । यो चालु आवमा ८ सय ५० रोपनी भन्दा बढी जमिनमा अदुवा लगाउने गरिएको तथ्यांक रहेको छ । २२ लाख किलो खरिद गर्नुपर्ने र २३० टन सुकेको अदुवा युरोप पठाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । सात किलो आलो अदुवा सुकेपछि मात्र १ किलो सुकेको अदुवा निर्माण हुने गर्छ । कम्पनीमा १५० जना कामदार रहेका छन् । दैनिक १२० जना नियमित काममा सक्रियता साथ काम गरिरहेको कम्पनीले जनाएको छ । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर पठाउने काम भएको प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् ।

अदुवा उत्पादनका लागि कर्णालीको हावापानी उपयुक्त छ । डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छ । तर उद्योगका अनुसार सबैभन्दा बढी अदुवा सल्यानमा उत्पादन हुन्छ । सल्यानबाट मात्र एक सिजनमा एक हजार २ सय टनसम्म अदुवा उद्योगमा आउने गरेको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठले बताइन । रुकुमबाट ८ सय र सुर्खेतबाट २ सय मेट्रिकटनसम्म अदुवा उद्योगमा आउने गरेको छ । उत्पादन धेरै भएको वर्ष उद्योगमा बढीमा २ हजार ३ सय टनसम्म अदुवा र बेसार आउने गरेको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् ।

‘पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यो बेला किसानले बजारको समस्या भोगे । अचेल त्यो समस्या छैन, हामीले किसानलाई उत्पादन बढाउन प्रोत्साहन गरिरहेका छौं ।’ उत्पादनलाई वृद्धि गर्न सकेमा विदेशको माग पनि धान्न सकिने प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् । उद्योगमा अदुवा र बेसार मात्र होइन, सिस्नो र टिमुर पनि प्रशोधन हुन्छ । उद्योगले अचेल किसानबाट सिस्नो र टिमुर खरिद गर्न थालेको हो ।

किसानबाट खरिद गरिएको सिस्नो र टिमुरलाई प्रशोधन गरेर बिक्री गरिन्छ । उद्योगमा सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ । यस्तै अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडरलाई प्याकिङ गरिन्छ । अनि मात्र अदुवा र बेसार बजारमा पठाउने गरिएको उद्योगको निर्देशक श्रेष्ठले बताइन ।

प्रतिक्रिया दिनुहोस्