सडक पूर्वाधारमा क्षति
राजमार्गका भार नियन्त्रण दुई तौल पुल बन्द

बारा– सरकारले बाराको सिमरा र हेटौंडामा सञ्चालित भारमापन तौल पुल केही वर्षदेखि सञ्चालनमा रोक लगाएको छ ।
राज्यको अर्बौं लगानीका पूर्वाधार जोगाउन निजी क्षेत्रका व्यवसायीले राजमार्गमा भारमापन गर्ने तौल पुल राखेका थिए । सडक, पुल तथा दुर्घटना रोक्न तराई यातायात व्यवसायी संघ सिमरा र नारायणी यातायात व्यवसायी संघले सञ्चालन गरेको दुई तौल पुल संघीय सरकारले सञ्चालनमा रोक लगाएपछि ५० वर्ष पुरानो सञ्चालनमा रहेका राजमार्गका पुल भत्कन थालेको छ भने सडक क्षति हुने क्रम बढेको छ ।
भारबहन तौल पुलको प्रयोग नहुँदा गत शुक्रबार अत्यधिक भारसहितको भारतीय मालवाहक ट्रकका कारण दुम्कीबासमा पुल भाँच्चिएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए । बानियाँले भने, ‘हाम्रा संघ संस्थाले राज्यको सडक पूर्वाधार जोगाउन बनाएको तौल पुलको प्रयोग सरकारले नबुझ्दा अबका दिनमा वर्षेनी अर्बौंको क्षति बढ्दै जाने दाबी गरे ।
वीरगन्ज क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी साधनलाई भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ (संशोधन २०७४) अनुसार सिमरामा भारमापन गरेर तराई यातायातले पठाउने गरेको थियो भने पूर्व–पश्चिम राजमार्गमा चल्ने मालबाहकलाई हेटौंडामा नारायणी यातायातले तौल पुलमा भारमिलान गर्ने गरेको थियो ।
दुवै स्थानका तौलपुल विगत पाँच वर्षदेखि संघीय सरकारको निर्देशनमा प्रहरी, प्रशासनले सञ्चालनमा रोक लगाएको छ । पूर्व–पश्चिम सडक निर्माणका बखत बनेका ६० वर्ष पहिलेका राजमार्गमा सञ्चालित बढीमा दुई लेनका साना ठूला ५३ वटा पुल कमजोर रहेको र अत्यधिक भारवहन सवारीका कारण कुनै पनि बेला दुर्घटना हुने यातायात व्यवसायीले सरकारलाई विभिन्न माध्यमबाट जानकारी गराएको बताउँछन् ।
विसं २०२१ सालमा बनेका ती पुलमा निजी, सार्वजनिकदेखि मालबाहक ट्रक, लरी सबै खाले यातायातले प्रयोग गर्ने गरेका छन् । नेपाली मालबाहक ६ चक्केलाई १० टन, १० चक्केलाई १७ टन, १२ चक्के लाई २१ टन र टेलरलाई अधिकतम ३१ टनसम्म मालसामान बोक्न पाउने अनुमति भए पनि सोही प्रकृतिका भारतीय मालबाहकले तेब्बर क्षमतासम्म तौल बोकी नेपालमा सञ्चालन भइरहेको तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओमकृष्ण कार्कीले बताए ।
हामीले सञ्चालन गरेको तौल पुलले धेरैसम्म सडकको भार नियन्त्रणको प्रयास गर्ने गरे पनि संघीय सरकारले एकाएक तौलपुल सञ्चालनमा रोक लगाएपछि सबै राजमार्गको सडक पूर्वाधार जोखिममा परेको बताए । राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेश प्रमुख भीमकिरण बोगटीले राजमार्गमा हुने ओभरलोड नियन्त्रण गर्न ट्राफिक प्रहरीले गरेको प्रयास पूर्ण नभए पनि स्रोत साधनले भ्याएसम्म नियन्त्रणका सबै उपाए गरिरहेको बताए ।
मालबाहक सवारीसाधन भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) अनुसार ठाउँठाउँमा भारमापन गरेरमात्र सवारीसाधन चल्न दिनुपर्ने नियम प्रभावकारी कार्यान्वयन नहुँदा भैरहवा तथा वीरगन्ज क्षेत्रबाट अत्यधिक भार बोकी भित्रने भारतीय मालबाहक सवारीका कारण पुल भाँच्चिन थालेको तथा सडक क्षतविक्षत हुने गरेको महासंघको दाबी छ ।