Logo

सिमेन्ट निर्यातमा भारतीय अवरोध हटाऊ

भारतले गुणस्तर प्रमाणपत्र ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) नवीकरणको बहाना बनाएर असारदेखि नेपाली सिमेन्टको आयात रोकेको छ । भारतले नेपाली सिमेन्ट आयात गर्न बिआइएस प्रमाणपत्र अनिवार्य गरेको छ । यस्तो प्रमाणपत्र ऊ आफैँले दिने हो । गत वर्ष नेपाली सिमेन्ट उद्योगको यस्तो प्रमाणपत्र नवीकरण गरेको भारतले यो वर्ष असारदेखि गरेको छैन । अहिले प्रमाणपत्रको म्याद भएका उद्योगले मात्र सिमेन्ट निर्यात गर्न पाएका छन् । बाँकी सबैको निर्यात रोकिएको छ ।

असारबाट निर्यात रोकिनेमा बालाजी सिमेन्ट उद्योगका बाहुबली र सृष्टि ब्रान्डको सिमेन्ट परेका छन् । कपिलवस्तुको कृष्णनगर नाका हुँदै बाहुबली र सृष्टि ब्रान्डको सिमेन्ट मात्र मासिक डेढदेखि दुई लाख बोरासम्म निर्यात हुँदै आएको थियो । बिआइएस नवीकरणको म्याद सकिएकाले कृष्णनगर नाका हुँदै निर्यात भइरहेको सम्राट सिमेन्टको निर्यात पनि रोकिएको छ । यस्तै भैरहवाको बेहलिया नाका हुँदै निर्यात भइरहेको अर्घाखाँची सिमेन्टको निर्यात पनि चार महिनादेखि रोकिएको छ ।

उद्योगले दुई वर्षदेखि ओपिसी र पिपिसी सिमेन्ट भारत निर्यात गर्दै आएकोमा गत असोजदेखि ठप्प छ । अर्घाखाँची सिमेन्टको असोज ९ देखि बिआइएस नवीकरणको म्याद सकिएको छ । अर्कातिर भैरहवा नाका हुँदै सर्वोत्तम र पाल्पा सिमेन्टको निर्यात भइरहेको छ । यी दुवै उद्योगको बिआइएस अवधि बाँकी रहेकाले निर्यातमा समस्या छैन । यस्तै, नवलपुरमा उद्योग रहेको होङ्सी सिमेन्टले भारतमा क्लिंकर निर्यात गरिरहेको छ । क्लिंकरमा भारतको अवरोध छैन ।

सन् २०१६ मा स्थापना भएको बिआइएस १२ अक्टोबर २०१७ देखि कार्यान्वयनमा छ । भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयअन्तर्गत उपभोक्ता मामिला विभागले यसलाई हेर्ने गर्छ । बिआइएस नवीकरणका लागि सरकारी र निजी संघसंस्थादेखि उद्योगी–व्यवसायीले आआफ्ना क्षेत्रबाट पहल गर्दै आएका छन् । भारतले कसैलाई टेरेको छैन । सोधखोज गर्दा भारतीय अधिकारीहरूले प्रक्रियामा छ भनेर टारिरहेका छन् ।

पछिल्ला दुई वर्षदेखि भैरहवा नाकाबाट अर्घाखाँची, पाल्पा, बालाजी, सर्वोत्तम र सम्राट उद्योगलगायतले सिमेन्ट भारत निर्यात गर्दै आएका थिए । भैरहवा भन्सारका अनुसार आव २०७९–८० मा ३१ करोड ६ लाख रुपैयाँको ४१ हजार ९ सय ३ टन सिमेन्ट निर्यात भएको थियो । यस्तै ४० करोड ९१ लाख रुपैयाँको ६२ हजार ३ सय ५८ टन क्लिंकर निर्यात भएको थियो । यसैगरी गत आवमा १ अर्ब ६५ करोड रुपैयाँको २ लाख ३१ हजार ७ सय ८४ टन सिमेन्ट र एक अर्ब २० करोड रुपैयाँको २ लाख ८ सय ३० टन क्लिंकर निर्यात भएको थियो ।

चालु वर्षको पाँच महिनामा ४३ करोड ४० लाख रुपैयाँको २ लाख ५९ हजार ७ सय २१ टन सिमेन्ट निर्यात भएको छ । क्लिंकर निर्यात भने नगण्य छ । नेपालसँगको व्यापारमा भारतको सधैँ मनोमानी र हेपाहा प्रवृत्ति छ । उसले चाहेको बेला निर्यात व्यापार खुला गर्ने र नचाहेका बेला रोक्ने गर्दै आएको छ । गत वर्ष गुणस्तरको प्रश्न उठाएर भारतले नेपालको प्लाइउड आयात रोकेको थियो । पछि यो वर्षको फेब्रुअरीसम्मका लागि फुकुवा गरेको छ । प्लाइउड निर्यातमा पनि अब केही दिन मात्र बाँकी छ ।

फेब्रुअरीपछि भारतले नचाहे यसको निर्यात पनि रोकिनेछ । कृषिजन्य वस्तुको निर्यातमा पनि सधैँ झमेला उठाउने गर्छ । गुणस्तर र अन्य विषय उठाएर एकाध कृषि वस्तुको निर्यात नरोकेको कुनै वर्ष हुँदैन । नेपाली चिया, अलैँची र अदुवाजस्ता नगदे बालीको निर्यातमा पनि सधैँ बखेडा झिक्ने गरिँदै आएको छ । खासमा देशको आवश्यकता र मागअनुसार विदेशी मुलुकहरूबाट सामान ल्याउन अनुमति दिने हो । स्वदेशी उद्योग व्यवसाय र आन्तरिक उत्पादनलाई प्रोत्साहन एवं संरक्षण गर्न विदेशी वस्तुको निर्यात निरुत्साहित गर्नु स्वाभाविक मान्न सकिएला । यो गर्न पनि विभिन्न विधि र तरिका छन् ।

अन्तर्राष्ट्रिय संघ–संगठनमा गरिएका प्रतिबद्धताहरू छन् भने दुई मुलुकबीच भएका सन्धि वा सम्झौता छन् । तर, भारतले यी सबै विषयलाई वास्ता नगरी नेपाली वस्तुको निर्यात रोक्ने काम गर्दै आएको छ । अहिले सिमेन्ट निर्यात रोक्नुमा पनि कुनै खास कारण छैन । गुणस्तरको विषय बहाना मात्र हो । यस्ता समस्या आउँदा अनाहकमा बहाना बनाएर वस्तु निर्यातमा भारतले अवरोध गर्दा पनि हाम्रो सरकार निरीह छ । सर्वसाधारण नागरिकलाई देखाउनका लागि मात्र सरकारमा बस्नेहरूले ठूला कुरा गर्छन् । तर, भारतसँग कुनै पनि विषयमा डटेर कुरा राख्न सक्दैनन् । यही निरीहपनको फाइदा भारतले उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्