पुसमा ६० प्रतिशतले घट्यो श्रमस्वीकृति लिनेको संख्या

काठमाडौं– वैदेशिक रोजगारीमा जानेको संख्या अचानक घटेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि प्रतिमहिना औषत ६५ हजार जनाले श्रमस्वीकृति लिएका थिए । पुसमा आउँदा यो संख्या २६ हजारमा सीमित भएको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएको जानकारी दिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो । गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या एक्कासि घटेको उनले बताए ।
विभागका अनुसार चालु आर्थिक वर्षको पुससम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख ५० हजार पुगेको छ । गत आर्थिक वर्षको पुससम्म वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या ३ लाख ६७ हजार थियो ।
निर्देशक भुसालले सामान्यतया श्रमस्वीकृति लिनेको संख्या औषत प्रतिमहिना ६५ हजार हाराहारी हुने भए पनि पुसमा ज्यादै कम देखिएको बताए । ‘विगतका वर्षहरुमा दशैं, तिहार र छठ पर्वपछि श्रमस्वीकृतिको संख्या बढी हुने गरेको थियो । अहिलेको पुसको तथ्यांक भने आश्चर्यजनक छ,’ उनले कारोबारसँग सोमबार भने, ‘फेमिस प्रणालीमा २६ हजार ७ सय १९ जनाले मात्र श्रमस्वीकृति लिएको देखिन्छ ।’
श्रमस्वीकृति लिने एक्कासि घट्नुको कुनै ठोस कारण नदेखिएको उनले बताए । उनका अनुसार वैदेशिक रोजगारीका लागि नेपाली जाने प्रमुख श्रम गन्तव्य मुलुकहरुमा अहिले कुनै पनि समस्या देखिएको छैन । नेपाली जाने खाडी मुलुकमा केही समस्या आएको छैन । मलेसिया र युरोपेली मुलुकहरुमा पनि गइरहेकै अवस्था छ । तर, एक्कासि विदेश जानेहरु आधाभन्दा पनि धेरैले किन घटेका छन् भन्ने कारण नदेखिएको उनको भनाइ छ ।
गत वर्षको तुलनामा चालु आवको कात्तिकसम्म श्रमस्वीकृति लिनेको संख्या केही कम थियो । मंसिरमा भने हालसम्मकै सबैभन्दा बढी ८४ हजार जनाले श्रमस्वीकृति लिएका थिए । गएको मंसिर महिनाको तुलनामा पुसको तथ्यांक झनै पत्यारलाग्दो देखिँदैन । मंसिरभन्दा पुसमा विदेश जाने नेपाली श्रमिकको संख्या ६९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार चालु आवको साउनमा ५९ हजार ५७५ जनाले विदेश जान श्रमस्वीकृति लिएका थिए । भदौमा यो संख्या ५७ हजार ४९३ थियो भने असोजमा ५३ हजार ५२५ जनाले श्रमस्वीकृति लिएका थिए । यस्तै कात्तिकमा ७० हजार ९५० र मंसिरमा ८४ हजार २२६ युवाले श्रमस्वीकृति लिएको विभागको तथ्यांक छ ।
गत आवको तुलनामा यो वर्ष संख्या कम हुनुमा मलेसिया कारण बनेको थियो । मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको थियो । तर वर्षको मध्य (पुससम्म) मा आउँदा गत वर्षभन्दा करिब १७ हजारले मात्र संख्या घटेको छ ।
कोभिड महामारीपछि आर्थिक वर्ष २०७८–७९ बाट वैदेशिक रोजगारी लयमा फर्किएको थियो । कोरोना कालपछि मुलुकको अर्थतन्त्र सुस्त हुँदा आन्तरिक रोजगारीमा संकुचन आएको छ । यही कारण वैदेशिक रोजगारमा जानेको संख्या प्रत्येक वर्ष बढ्दै आएको छ । गत आर्थिक वर्षमा ७ लाख ४१ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । त्यसअघिको वर्षमा विदेश जानेको संख्या योभन्दा पनि बढी थियो । अघिल्लो वर्ष ७ लाख ७० हजार हाराहारीमा विदेश पुगेका थिए । चार वर्षअघि आव २०७८–७९ मा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार थियो । चालु आवको अहिलेसम्मको तथ्यांकलाई आधार मान्ने हो भने यो वर्ष पनि ७ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिन्छ ।
वैदेशिक रोजगारमा जान सुरु गरेपछि अहिलेसम्ममा एक महिना सबैभन्दा बढी युवा विदेश गएको गत मंसिरमा हो । मंसिरमा ८४ हजार युवाले श्रमस्वीकृति लिएका थिए । यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरेयता २९ वर्षकै उच्च हो ।