बैंक तथा वित्तीय संस्थाले पाँच महिनामा कमाए ३४ अर्ब नाफा

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ३४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ९७ करोड २५ लाख रुपैयाँ नाफा गरेका हुन् ।
करिब ३४ अर्बमध्ये ‘क’ वर्गका अर्थात् २० वटा वाणिज्य बैंकहरुको खुद नाफा ३० अर्ब ५९ करोड रुपैयाँ छ । यसैगरी विकास बैंकहरुको खुद नाफा ३ अर्ब ८३ करोड र वित्त कम्पनीको ५४ करोड रुपैयाँ छ ।
बैंक तथा वित्तीय संस्थाले कात्तिक मसान्तसम्म २४ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेकामा एक महिनामा ९ अर्ब रुपैयाँ थप गरेका हुन् । अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका कुल ५४ बैंक तथा वित्तीय संस्थाले गत आवभर ७० अर्ब ९२ करोड रुपैयाँ नाफा गरेका थिए । वाणिज्य बैंकहरुले गत आवमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
पाँच महिनामा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले यो अवधिमा साढे ३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया छ । बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई दोस्रो, नेपाल इन्भेष्टमेण्ट मेगा तेस्रो र कुमारी बैंक चौथो स्थानमा छन् ।
यसैगरी विकास बैंकतर्फ सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ भने गरिमा दोस्रो र शाइन रेसुंगा तेस्रो स्थानमा छन् । उनीहरुले क्रमशः ५९ करोड, ५२ करोड र ४८ करोड रुपैयाँ नाफा गरेका छन् ।