वार्षिक ८४ करोडको विषादी खपत, अर्गानिक उत्पादन बढेन «

वार्षिक ८४ करोडको विषादी खपत, अर्गानिक उत्पादन बढेन

विषादी प्रयोगमुक्त सप्ताह

भरतपुर-तरकारी तथा फलफूल उत्पादनमा बढ्दो विषादी प्रयोग न्यूनिकरण गर्न चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह’ सुरु गरिँदैछ । कृषि ज्ञान केन्द्र चितवनको बाली संरक्षण प्रयोगशाला र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्लाण्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
“विषादी न्यूनिकरणका लागि सप्ताहव्यापी कार्यक्रम लक्षित छन्”, प्लाण्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले भने, “जनचेतना अभिवृद्धि हुनेछ, किसान, उपभोक्ता र व्यापारी सबै सचेत हुनेछन् ।”
उनका अनुसार नेपालमा करिव ८४ करोड बराबरको विषादी वार्षिक आयात हुन्छ । गत वर्षको तथ्यांक हेर्दा ६ सय ३२ टन विषादी आयात भएको देखिन्छ । कीटनासक २ सय १६, रोगनासक २ सय ६७, झारनासक १ सय ४२ र अन्य ५ टन विषादी आयात भएको देखिन्छ । खाना, स्वाशप्रस्वास, छालाको सम्पर्क माध्यमबाट मानवमा शरीर विषादीका अवशेष प्रवेश गर्छन् । प्र्रतिवर्ष प्रति हेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुने गरेको देखिन्छ । उत्पादन बढाउन सबैभन्दा बढी तरकारीमा ८५ प्रतिशत बढी विषादी प्रयोग हुने गरेको अध्ययनले देखाउँछ ।
“कुन बालीमा कस्ता विषादी कसरी प्रयोग गर्नेसम्म जानकारी अधिकांश किसानलाई छैन”, उनले भने, “विषादी प्रयोग गरेपछि पर्खिनुपर्ने अवधि नपर्खी बजारमा बेच्न लैजाने प्रवृत्ति छ, यो पनि सुधार गर्नुपर्नेछ ।” घातक विषादी प्रयोगको विकल्पमा वनस्पतिजन्य र जैविक विषादी प्रयोगतर्फ उन्मुख गराउन सप्ताहव्यापी कार्यक्रमले सघाउने बताए । नेपालमा २४ वटा अत्यन्त खतरनाक विषादी प्रतिवन्धित छन् । तर, खुल्ला सीमाका कारण प्रतिवन्धित विषादीसमेत प्रयोग हुने गरेका छन् ।
सप्ताहव्यापी कार्यक्रमअन्र्तगत चितवनमा विषादीविरुद्ध सचेतना अभियान चलाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । उनका अनुसार २४ गते अन्तरक्रिया, विषादी अनुगमन, २५ गते गोष्ठी, मावी तहका विद्यालयमा सचेतना कार्यक्रम, २६ गते रत्ननगरमा अन्तरक्रिया, बाली उपचार शिविरलगायतका कार्यक्रम हुनेछन् । “विषादी न्यूनिकरण गर्न किसानलाई जागरुक बनाउने काम भइरहेका छन्”, उनले भने, “अर्गानिक उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाउन छलफल भइरहेको छ ।” यही पुस १ गतेदेखि सञ्चालनमा आएको ‘विषादी अवशेष द्रुत विश्लेषण’ प्रयोगशाला सञ्चालमा छ । फलफूल तथा तरकारी बजारमा स्थापना भएको प्रयोगशालामा नियमित नमूना संकलन गरी विषादी अवशेष मापन हुँदै आएको छ ।
प्रयोगशालामार्फत अर्गानोफस्फेट र कार्वामेट्स समूहका विषादीको परीक्षण हुँदै आएको छ । “अहिलेसम्म चितवनमा खान आयोग्य हुने गरी विषादी प्रयोग गरिएको भेटिएको छैन”, उनले भने, “तर, विषादीको प्रयोग बढ्दो रहेको उपभोक्ताको दाबी छ ।”
महानगर फलफूल तथा तरकारी बजारमा २ सय २३ स्टलहरु छन् । बजार विकास प्रालिका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले विषादी मापन गर्ने प्रयोगशाला सञ्चालनमा आएपछि सबै पक्ष सजग बनेको बताए । “विषादी मापनकै कारण विषादी राखेर पर्खिनुपर्ने अवधि अगाडि नै बेच्न ल्याउने प्रवृत्ति हटेको छ”, उनले भने, “मापन गर्दा खान अयोग्य अवशेष भेटिए नष्टसमेत गरेका छौँ, विषादीप्रयोग हटाउनुपर्छ ।” उनले अर्गानिक उत्पादनलाई निःशुल्क स्टलसमेत व्यवस्था मिलाउन खोजिएको बताए ।
उनले तरकारी तथा फलफुल बजारमा ‘किसान हेल्प डेस्क’ स्थापना गरी विषादीबारे परामर्श तथा जानकारी दिइनुपर्ने बताए । नेपालमा ७ जिल्लामा सामुदायिक आइपिएम श्रोत केन्द्रमार्फत जैविक तथा वानस्पतिक विषादी उत्पादन हुँदै आएको छ । देशभर ७ स्थानमा सरकारीस्तरका विषादी मापन प्रयोगशाला सञ्चालनमा छन् । विषादी प्रयोग गरी उत्पादन गरिने कृषि उपजले स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पु¥याउँछ । जमिनको उर्वरा शक्तिमा समेत ह«ास ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्