Logo

अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नु पर्नेमा दाहालको जोड

काठमाडाैं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धि गर्नु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघले सोमबार काठमाडौंमा गरेको सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धि विषयको राष्ट्रिय कार्यशालालाई सम्वोधन गर्दै उनले सार्वजनिक यातायातमा समेत अपाङ्गता भएकाहरुको पहुँच बढाउन जरुरी रहेको बताए ।

अब बन्ने सडक तथा संरचनालाई अपाङ्गतामैत्री बनाउन सरकारले ध्यान दिएको भन्दै उनले अपांगतामैत्री संरचना र संरचनामैत्री सवारी साधनहरुको उपयोग आवश्यक रहेकोमा जोड दिए । यस्तै अहिले निर्माणाधिन र निर्माण हुने सडक एवम् संरचनाहरुलाई सुरक्षित तथा दिगो बनाउन मन्त्रालयले प्राथमिकता दिएको बताए । ‘हामीले पूर्वाधार निर्माणमा मात्र जोड दिएका छैनौं, सुरक्षित पूर्वाधारमा जोड दिएका छौं । सडक एवम् सवारी दुर्घटना मार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिवद्ध छौं’ उनले भने ।

सडक तथा सवारी दुर्घटना समेत अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकतामा उनले जोड दिए । मन्त्री दाहालले सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिन भन्दै उनहरुलाई सुनिश्चित गरिएको सुविधा एवम् छुटबाट वञ्चित नगराउन समेत यातायात व्यवसायी एवम् मजदुरहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सबै सवारी साधनहरुमा अपाङ्गता मैत्री व्यभारका लागि मजदुर एवम् व्यवसायीहरुलाई अभिमुखीकरण समेत गर्ने गरिएको बताए । नयाँ सवारी साधनहरु आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारी साधनहरु भित्राउन सकिने उल्लेख गरे । तर नेपाली सडक तथा संरचनाहरुलाई समेत अपांगता मैत्री बनाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय अपांग महासंघका अध्यक्ष देवीदत्त आचार्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित, आयोजक संस्थाका पूर्व अध्यक्ष किरण शिल्पकार, विभिन्न मजदुर संगठनका प्रतिनिधी लगायतले सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धिका लागि अपाङ्गतामैत्री संरचनाहरुको खाँचो रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्