Logo

नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित

काठमाडौं– नेपाल टेलिकमको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रूपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १७औं वार्षिक प्रतिवेदन पेस गरिन् ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरूलाई परिलक्षित गरिरहेको बताइन् ।

आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ उनको भनाइ छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कुल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको समेत अर्यालले बताइन् । कम्पनीले १७औं साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबारदेखि नै एनएमबि बैंकमार्फत सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्