मध्यपहाडी लोकमार्गमा रुख कटानका लागि स्वीकृति

लमजुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तगर्त लमजुङको मध्यनेपाल क्षेत्रमा रुख कटानका लागि सरकारले स्वीकृति दिएको छ । मध्यनेपाल नगरपालिका–७ र ८ अन्तर्गत राष्ट्रिय वन र चारवटा सामुदायिक वन क्षेत्रमा पर्ने सडक निर्माणका लागि रुख कटानी गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो ।
सरकारले सडक निर्माणका लागि चारवटा सामुदायिक वन क्षेत्रअन्तर्गत एक दशमलव शून्य ७२ हेक्टर जग्गामा पर्ने ५६६ वटा रुख कटानका निम्ति स्वीकृति दिएको हो । यसअघि वनले रुख कटानका लागि स्वीकृति नदिँदा मध्यपहाडी लोकमार्ग निर्माणकार्य नै प्रभावित भएको थियो । वनकै कारण मध्यनेपाल नगरपालिका अन्तर्गत करापुटारदेखि रुदिखोलासम्म एक दशमलव पाँच किलोमिटर सडक निर्माण कार्य प्रभावित भएको थियो ।
वन क्षेत्रमा सडक निर्माण गर्ने क्रममा रुख तथा बुट्यान कटनी गर्न सम्बन्धित मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान छ । स्वीकृतिका लागि धेरै अघि प्रक्रिया अघि बढेको भए पनि मन्त्रालयबाट ढिला गरी निर्णय आएको हो । मन्त्रालयबाट स्वीकृति आएसँगै सो क्षेत्रमा सडक निर्माणको कार्यले गतिलिने आयोजनाले जनाएको छ । मध्यपहाडी लोकमार्ग निर्माण कार्य जिल्लामा वन क्षेत्रबाहेक पनि स्थानीयको अवरोधका कारण सुन्दरबजारमा दुई किलोमिटर र भोर्लेटारमा एक दशमलव ७५ किलोमिटर सडक निर्माण कार्य पनि प्रभावित भएको छ ।
सुन्दरबजारको क्याम्पस गेटदेखि मुख्य बजार हुँदै खत्रेठाँटीसम्म सडक निर्माण कार्य हुन सकेको छैन भने मध्यनेपालको रानीपानी चोकदेखि भोर्लेटार बजार हुँदै मिदिम खोला पुलसम्म निर्माण कार्य अवरोध हुँदै आएको छ । जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये राईनास खण्ड, सुन्दरबजारको सत्रसयदेखि नेटासम्म सम्पन्न भइसकेको छ । सोबाहेक सुन्दरबजारको पाउदीदेखि क्याम्पस गेटसम्म, खत्रेठाँटीदेखि सत्रसयसम्म, मध्यनेपालको नेटादेखि रानीपानीसम्म र मध्यनेपालकै कल्याण बेसी सडक निर्माण कार्यले गति लिएको छ ।
सुन्दरबजारको पाउदीदेखि मध्यनेपाल र कास्की सीमामा रहेको मादी पुलसम्म लमजुङमा चार खण्डमा काम हुँदै आएको छ । मध्यपहाडी राजमार्ग देशकै गौरवको आयोजना भएको र यो आयोजना निर्माण सम्पन्न भएपछि समग्र जिल्लाकै समृद्धिको आधार तय हुने भन्दै जतिसक्दो छिटो आयोजना सम्पन्न गर्नुपर्ने सरोकारवालाको भनाइ छ । आर्थिक वर्ष ०६४/०६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एकहजार ७६५ किलोमिटर लामो हुने बताइएको छ ।
सडक खण्डअन्तर्गत अधिकाँश जिल्लामा काम सम्पन्न चरणमा भएको तर लमजुङमा भने निर्माण कार्य सुस्त भएको भन्दै प्रशासनले पनि चासो दिँदै आएको छ । करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७५६ किमि नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको आयोजनाले जनाएको छ । लोकमार्ग अन्तर्गत जिल्लामा कतिपय भागमा कालोपत्रेको भइसकेको छ भने कतिपय भागमा सडक चौडा पार्ने क्रम चलिरहेको छ । सम्पन्न चरणका कामलाई पनि निरन्तरता दिन थालिएको आयोजनाले जनाएको छ ।