Logo

कर्णालीका दूध उत्पादक किसानलाई एक करोड प्रोत्साहन अनुदान

वीरेन्द्रनगर– दूध उत्पादनलाई भारी मात्रामा वृद्धि गर्ने भन्दै प्रदेश सरकारले अनुदान सहयोग गर्दै आएको छ । प्रदेश सरकारले कार्यान्वयन गरिरहेको दूधमा प्रोत्साहन कार्यक्रममार्फत् यहाँका १० जिल्लामध्ये रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतका किसानलाई एक करोड २३ लाख वितरण गरिएको हो ।

दूध डेरीमा बिक्री गरेको परिणामको आधारमा प्रतिलिटर पाँच रूपैयाँ प्रोत्साहन भत्ता दिने निर्णयअनुसार उक्त रकम दिइएको हो । आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका ३३ सय ७६ जना दुग्ध उत्पादक कृषकलाई एक करोड २३ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको भूमि व्यवस्था एवम् सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले बताए । कर्णालीमा ३७ लाख ९१ हजार ४२९ लिटर दूधको प्रोत्साहन रकम वितरण गरिएको हो ।

कर्णालीमा गत आर्थिक वर्षमा विभिन्न पशुपन्छीजन्य उत्पादनको निर्यातबाट कर्णाली प्रदेशले एक अर्ब ८५ करोड २० लाख रकम भित्र्याएको उनले बताए । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै कर्णालीबाट लुम्बिनीका दाङ र बाँकेमा ४२ करोड ९२ लाख बराबरको दूध निर्यात भएको छ । सो आर्थिक वर्षमा लुम्बिनीका नेपालगन्ज र बर्दियाबाट भने एक करोड ३७ लाख बराबरको दूध कर्णालीमा आयात भएको छ ।

६ लाख बढी पशु, ३२ हजार मेट्रिक टन बढी मासु उत्पादन
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक तथ्यांकअनुसार प्रदेशभर ६ लाख एक हजार ५१० वटा गाईगोरु रहेका छन् । जसमध्ये उक लाख १० हजार २२८ गाई दुहुना रहेको र दुई लाख ९५ हजार २५२ राँगाभैंसी रहेकोमा एक लाख सात हजार ३६९ वटा भैंसी दुहुना रहेका छन् । कर्णालीमा वार्षिक रूपमा ३२ हजार ४५१ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ ।

सबैभन्दा बढी खसीबोकाको १४ हजार २७ मेट्रिक टन मासु कर्णालीमा उत्पादन हुने गर्छ भने राँगा/भैंसीको आठ हजार ८०५, भेडा २२ सय १६, च्यांग्रा ३१५, बंगुर सुंगुर २५ सय २५, कुखुरा ४१ सय २५, हाँस १५, माछा दुई सय मेट्रिक टन उत्पादन भइरहेको छ । अण्डा भने कुखुरा र हाँसको गरेर एक करोड ४४ लाख १० हजार गोटा उत्पादन हुने गरेको छ । यस्तै, कर्णालीमा हरेक वर्ष २२१ मेट्रिक टन घ्यू उत्पादन हुने गरेको छ ।

४३ सय ५२ पशुमा कृत्रिम गर्भाधान
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ मा ४३ सय ५२ पशुमा कृत्रिम गर्भाधान हुने गरेको छ । जसमा गाईमा २३ सय ०४, भैंसीमा १८ सय ६२ र बाख्रामा १८६ कृत्रिम गर्भाधान गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा ३२ सय ५९ र आर्थिक वर्ष २०७९/०८० मा ३८ सय ०८ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको छ । चालु आर्थिक वर्षको पुस २२ गतेसम्ममा सुर्खेतमा ९६१ गाई, ११ सय ५२ भैंसी र ३७ वटा बाख्रा, दैलेखमा ४४ गाई, ११७ भैंसी, नौ बाख्रा, जाजरकोटमा ६ गाई, भैंसी ३१, बाख्रा चार वटामा कृत्रिम गर्भाधान गरिएको छ ।

यस्तै सल्यानमा ३०, ३५ भैंसी, रुकुम पश्चिममा ३५ गाई, २६ भैंसी र जुम्लामा ८९ गाई र दुई वटा भैंसीमा कृत्रिम गर्भाधान सम्पन्न भएको सचिव थापाले बताए । यस्तै, कर्णालीका ४६३ भेडा/बाख्रा पालक कृषकलाई चार लाख ५६ हजार रूपैयाँ औषधि उपचार खर्च उपलब्ध गराएको भूमि व्यवस्था एवम सहकारीमन्त्री विनोदकुमार शाहले बताए । मन्त्रालयका सचिव टीकाराम थापाले आगामी आर्थिक वर्षको बजेटलाई कर्णालीको उत्पादनमुखी बजेटको रूपमा ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्