मानव तस्करको निसानामा नेपालगञ्ज नाका «

मानव तस्करको निसानामा नेपालगञ्ज नाका

नेपालगञ्ज-बाँकेको नेपालगञ्ज नाका अन्तर्राष्ट्रिय मानव तस्करको निसानामा परेको छ । खुला सीमानाका साथै सीमावर्ती बजार रुपैडिहामा सामान किनबेच गर्न जाने बहानामा भारतमा चेलीबेटी बेचविखनका लागि लैजान सजिलो हुने भएपछि तस्करको गिरोह यहाँ सक्रिय भएको हो ।
मानव दलालले वैदेशिक रोजगारका लागि भन्दै भारत हुँदै खाडी मुलुकमा यहाँका मात्र नभएर पूर्वी नेपालका विभिन्न जिल्लाका महिलाहरुलाई समेत प्रलोभनमा पारी बेचविखनका लागि लैजाने गरेका छन् ।
अन्य नाकाहरुको तुलनामा यहाँवाट भारत जान सहज भएपछि गिरोहले यस नाकालाई मानव तस्करीको मुख्य ‘ट्रान्जिट पोइन्ट’ बनाएका छन् । राम्रो काम पाइने भन्दै ललाई फकाई भारतमा लगिएका महिला तथा बालबालिका दिनहुँ हराउने गरेको मानव बेचविखन सम्वन्धी काम गर्ने संघसंस्थाहरुमा उजुरी आउने गरेको छ । उजुरी धेरैको आएपनि हराएका महिला तथा बालबालिकाको तुलनामा प्रहरीमा निकै कम मात्र मुद्दा दर्ता हुने गरेको पाईएको छ ।
माइती नेपाल नेपालगञ्जका अनुसार सन् २०१९ मा आठ सय ६९ जना हराएको भन्दै आफन्तले निवेदन दिएकोमा दुई सय ९७ जना मात्र फेला परेका छन् । बाँकी ५ सय ७२ जनाको अवस्था थाहा हुन सकेको छैन । त्यस्तै २००२ देखि यता १७ बर्षको अवधिमा ६ हजार ६२ जना आफन्तले हराएकाहरुको खोजतलासका लागि निवेदन दिएका छन् । तीमध्ये एक हजार ५६ जना मात्र फेला परेका छन् भने बाँकी ५ हजार भन्दा बढी व्यक्तिको अवस्था अझैसम्म पनि पत्ता लाग्न नसकेको माईती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाको भनाइ छ ।
त्यस्तै सो अवधिमा सात हजार तीन सय ३८ जना जोखिमपूर्ण यात्रामा रहेका महिलाहरुको सिमानाकावाट उद्धार गरिएको माईती नेपालले जनाएको छ । सन् २०१९ मा मात्रै जोखिमपूर्ण अवस्थामा रहेका ८ सय ९६ जनाको उद्धार गरिएको छ । हराएकाहरुको खोजतलास तथा घटना दर्ताको तथ्याङ्कलाई हेर्ने हो भने बाँके लगाएत छिमेकी जिल्लाहरु जोखिममा रहेका छन् । आफन्त हराएको भन्दै खोजतलासका लागि बर्षेनी धेरैजनाको निवेदन पर्ने गरेपनि बेचविखनका घटनामा भने ज्यादै कम मात्र मुद्दा दर्ता हुने गरेको पाईएको छ । १७ बर्षको तथ्यांक हेर्दा यस्ता मुद्दा ८३ वटा मात्रै परेका छन् ।
नेपालगञ्ज नाकाबाट धेरैजसो बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम जिल्लाका वालबालिका तथा महिलालाई बेचविखनका लागि लगिएको पाईएको छ । तीमध्ये सन् २०१९ मा बाँकेका आठवटा स्थानीय तहमध्ये सवैभन्दा बढी कोहलपुर नगरपालिकामा ६३ र सबैभन्दा कम जानकी गाउँपालिकामा ७ वटा महिला तथा वालबालिकाको खोजतलास तथा उद्धारका लागि निवेदन परेका छन् । यस्तै, नेपालगन्जमा ४३, बैजनाथमा २५, राप्तीसोनारी र खजुरा गाउँपालिकामा १९÷१९, डुडुवा गाउँपालिकामा १२ वटा निवेदन परेका छन् ।
पछिल्लो समय सूचना प्रविधिको विकासका साथै सामान्यस्तरका व्यक्तिहरुमा पनि पहुँच पुग्न थालेपछि सामाजिक सञ्जालको प्रयोगवाट मानव तस्कर हुन थालेको छ । उनीहरुले फेसबुक, इमो, भाइबर, वाट्सअप लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर सम्वन्ध स्थापीत गर्ने र सोझा महिलालाई जालमा पार्ने गरेको पाईएको कोईरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्