Logo

जलजलाको ३९ योजनामा बजेट रकमान्तर

पर्वत– पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशनले विभिन्न योजनामा बजेट रकमान्तर गरेको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको हो । योसँगै विभिन्न विधेयक र ऐन पारित गरेको छ । गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको वास्तविक आय र हालसम्मको खर्च तथा उपलब्धि बारे जानकारी दिएका थिए ।

गाउँपालिकाले चालुतर्फको बजेट ३६ करोड ७८ लाख रुपैयाँ मध्ये हालसम्म १३ करोड ४५ लाख खर्च गरेको छ । पुँजीगततर्फ १३ करोड ४५ लाख रुपैयाँमध्ये २ करोड १२ लाख खर्च भएको अध्यक्ष राजु आचार्यले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षको हालसम्म ७५ लाख २५ हजार रुपैयाँ राजस्वसमेत संकलन गरेको छ । विषयगत शाखाहरूबाट भएका कामको समेत समीक्षा गरिएको थियो ।

जलजलाले पूर्वाधारतर्फ पनि विभिन्न योजनाहरू अघि बढाएको छ । वडा– ४ लामाखेतमा कर्मचारी आवास र स्टोर भवनको दोस्रो चरणको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । तेस्रो चरणको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अगाडि बढाइ हाल सम्झौताको चरणमा रहेको छ । जलजला–३ मा पर्ने वारिबेनी भुर्तुला सडक स्तरोन्नतिका लागी सम्झौता भई हाल निर्माण कार्य सम्पन्न भएको छ ।

जलजला गाउँपालिका–३ मा १० बेडको आधारभूत अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । जलजला गाउँपालिका– ८ दमुवाखोलामा चिस्यान केन्द निर्माणका लागि सम्झौता भई हाल निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताए । त्यसैगरी जलजला गाउँपालिका–७ मा पर्ने लस्ती बास्कोट गौशाला सडक स्तारोन्नतिका लागि सम्झौता भई हाल निर्माणको चरणमा रहेको छ । गाउँसभाले जलजला गाउँपालिका नगरप्रहरी सञ्चालन ऐन २०७७ लाई संशोधन गर्न वनेको विधेयक २०८१ पारित गरेको छ ।

रघुगंगाको संशोधित बजेट स्वीकृत
म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को संशोधित बजेट स्वीकृत गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा भएको १८ औ गाउँसभाले बजेट संशोधन गर्ने प्रस्ताव पारित गरेको हो । गत असारको सभाबाट पारित भएको बजेटको सीमाभित्र रहेर शीर्षक र रकम थपघट गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

दुई करोड तीन लाख रुपैयाँबराबरको बजेट संशोधन भएको हो । अघिल्लो सभाले ६५ लाख बजेट विनियोजन गरेको गाउँपालिका जाने चोकबाट गाउँपालिकासम्म मोटरबाटो ढलान योजनाका लागि २० लाख थपिएको छ । वडा– १ को कार्यालय भवन निर्माण योजनाको बजेट ४५ लाखबाट बढाएर ५५ लाख पुर्‍याइएको छ । संशोधनपछि रघुगंगाको बजेट चालुतर्फ ३६ करोड ९६ लाख र पुँजीगततर्फ ११ करोड ६९ लाख गरी कुल ४८ करोड ६५ लाख कायम भएको छ ।

गत असारमा सम्पन्न गाउँसभामार्फत विनियोजन भएका योजना तथा कार्यक्रम प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिनाई, परिमार्जन गरी प्रभावकारी बनाउन र कतिपय योजनामा बजेट अभाव हुँदा अधुरो हुने अवस्था भएकाले सीमित स्रोतसाधनहरुबाट प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्न सहज होस् भनेर योजना तथा बजेट संशोधन गरिएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले बताए ।

गाउँसभामा पालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षको पुस २१ सम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरेका थिए । ४८ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड २४ लाख रुपैयाँ खर्च भएको विवरण पेस गरिएको थियो । उनका अनुसार चालुतर्फ १२ करोड ३ लाख र पुँजीगततर्फ एक करोड २१ लाख रुपैयाँ खर्च भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

यो अवधिमा संघीय सरकारबाट समानिकरण अनुदानतर्फ ३ करोड ९१ लाख, गण्डकी प्रदेश सरकारको समानिकरण अनुदानतर्फ ४७ लाख २८ हजार, संघीय सरकारको सशर्त अनुदानतर्फको १० करोड ८९ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट तीन करोड, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँडतर्फको २६ लाख, आन्तरिक स्रोत र गत आवको अल्यासहित चार करोड गरी २२ करोड ६० लाख परिचालन भएको पालिका अध्यक्ष भण्डारीले जानकारी गराए ।

गाउँसभामा पालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न योजना सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्तालाई अनुरोध गरेका थिए । गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूको लागत अनुमान तयार गरी धमाधम योजना सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । पालिकाले असारे विकासलाई निरुत्साहित गर्न वैशाख मसान्तभित्रै योजना सम्पन्न गर्ने उद्देश्यसहित बजेट कार्यान्वयनलाई तीव्रता दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्