Logo

सिक्लेसमा होटल र होमस्टे थपियो

पोखरा– कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा होटल र होमस्टे थपिएको छ । जसको कारण एकै रातमा २ हजार ५ सय जना वाह्य तथा आन्तरिक पर्यटकलाई व्यवस्थापन गर्न सकिने भएको हो । मादी गाउँपालिका–१ का वडा अध्यक्ष देविजंग गुरुङले ३६ वटा घरवास कार्यक्रम (होमस्टे) र ४७ वटा होटलहरू रहेको बताए ।

हाल गाउँमा सञ्चालन भएका होमस्टे प्याकेज अन्र्तगतप्रति पर्यटक एक रातको खानासहित आवासीयको एक हजार एक सय र उक्त प्याकेजको होटलमा भने एक हजार चार सय रुपैयाँ शुल्क रहेको गुरुङले जानकारी दिए । आफ्नो गाउँमा सिजनमा सार्वजनिक विदाको दिनमा एक हजार ५ सयदेखि २ हजार जनासम्म पर्यटकहरू जाने गरेको उनले बताए । गाउँको शान्ति सुरक्षाको लागि ६४ स्थानमा सीसी क्यामरा जडान गरिएको छ ।

गाउँको स्थानीय उत्पादन र अर्गानिक खाने कुरा खुवाउन चाहेर पनि धेरै पर्यटकहरू पुर्‍याउन कठिन भएको सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले बताए । सिक्लेस क्षेत्रको कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिक्लेस सांस्कृतिक समुह स्थापना गरी घाँटु, कृष्ण चरित्रलगायतका विषयमा होटल–होमस्टे र आमा समुहसँग समन्वय गरिने भएको उनले बताए ।

उनले भने,‘गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त संग्राहलय जस्तै बनेको यहाँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि पनि स्वदेश तथा विदेशबाट अनुसन्धान गर्न सिक्लेस आउने गरेका छन् ।’

सिक्लेसबाट कपुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि पर्यटक आउने गरेको क्लबका सल्लाहकार देवीजङ गुरुङले बताए । गुरुङ संस्कृतिको अध्ययनका लागि सिक्लेस ईको म्युजियम पनि महत्त्वपूर्ण गन्तव्य रहेको बताउँदै उनले संग्राहालयमा गुरुङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्री देख्न पाइने जनाए ।

माघे संक्रान्तिमा छुट
सिक्लेसमा माघे संक्रान्ति मेला भर्न आउने पर्यटकलाई होमस्टे तथा होटल आवासमा १० देखि २० प्रतिशत छुट दिइएको छ । सिक्लेस युवा क्लबको आयोजनामा उक्त छुट राखिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको हो । गाउँ पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मेला माघ १ देखि ४ सम्म हुने भएको क्लबका अध्यक्ष गुरुङले बताए ।

गुरुङ समुदायको कला, संस्कृति, परम्पराको संरक्षण गर्दै खेलकुद क्षेत्रको समेत प्रवर्द्धन गर्न उक्त मेला आयोजना गरिएकोे उनले बताए । पर्यटकीय आकर्षणका रूपमा रहेका क्हफुचे हिमताल, कोरी पदयात्रा र क्होलासोंथर जाने मार्गको गेटसमेत सिक्लेसमा पर्छ । उक्त मेलाबाट १३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्