Logo

न्यूयोर्क टाइम्सको भ्रमण गर्नैपर्ने सूचीमा लुम्बिनी

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वकोे प्रसिद्ध सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले विश्वका घुम्नै पर्ने गन्तव्यमा छनोट गरेको छ । न्यूयोर्क टाइम्सले हालै सार्वजनिक गरेको विश्वका घुम्न पर्ने ५२ गन्तब्य स्थानमा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पनि समावेश गरेको हो ।

अमेरिकाबाट प्रकाशित हुने विश्व चर्चित सो पत्रिकाले हालै सार्वजनिक गरेको विश्वका ५२ गन्तव्य स्थलमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखेको छ । सन् २०२५ मा विश्व भ्रमणमा जाने ५२ स्थान शीर्षकमा ‘नयाँ वर्षले कहाँ लैजान्छ ? हाम्रो वार्षिक सूचीबाट मनपने स्थान चयन गरेर आफ्नो यात्रा योजना सुरु गर्नुहोस्’ भन्दै विश्वका ५२ गन्तव्य स्थलबारे संक्षिप्त जानकारीका साथ न्यूयोर्क टाइम्सले सूची सार्वजनिक गरेको हो ।

सो पत्रिकाको वेभ साइटमा लुम्बिनीको ऐतिहासिक महत्त्वसहितको जानकारीसमेत राखिएको छ । गन्तव्य सूचीमा परेकोले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह हुने र पत्रिकाको माध्यमले विश्वभर लुम्बिनीको प्रचार एवं प्रवर्द्धन गर्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । विश्वको चर्चित पत्रिकाले सन् २०२५ को भ्रमण गर्नैपर्ने सूचीमा लुम्बिनीलाई शीर्ष स्थानमा राख्नु भनेको लुम्बिनीको महत्त्वलाई अझ बढाउनु हो, सदस्य सचिव शाक्यले भने ।

भ्रमण गर्ने गन्तव्य सूचीमा पर्दा लुम्बिनीको थप प्रचार भएको छ र पर्यटक लुम्बिनीमा वृद्धि हुने अपेक्षा रहेको पर्यटन व्यवसायीले बताएका छन् । सिद्धार्थ होटल संघ नेपाल (सान) का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले राज्यले करोडाैं रुपैयाँ खर्च गर्नुपर्ने प्रचारात्मक तथा प्रवर्द्धन कार्यलाई न्यूयोक टाइम्सले भ्रमण गर्नुपर्ने गन्तव्यका रूपमा त्यो पनि शीर्ष नौ मा राखेर प्रवर्द्धनमा ठूलो मद्दत गरेको बताए ।

‘लुम्बिनीकै नाममा विदेशबाट वार्षिक लाखाैं पर्यटक आउन सक्छन्, अब राज्य र सरोकारवाला निकायले आफनो जिम्मेवारी निर्वाह गर्नुपर्छ, हामी निजी क्षेत्रले पर्यटकको चाहनाअनुसार पर्यटक स्तरदेखि पाँच तारेसम्मका होटल भैरहवा लुम्बिनी क्षेत्रमा निर्माण गरिसकेका छौं, दैनिक १० हजार पर्यटकलाई हामीले हाम्रा होटलमा सेवा दिन सक्छौ, अब पर्यटक भित्र्याउने काम सरकारको हो,’ श्रेष्ठले भने ।

लुम्बिनीमा सन् २०२४ मा सबै प्रकृतिका गरी ११ लाख ७२ हजार पर्यटक पुगेका थिए । जसमा विदेशी पर्यटकको संख्या एक लाख १४ हजार ४२५ रहेको छ । विदेशी पर्यटक सन् २०२३ को तुलनामा ४६ प्रतिशतले बढी हुन् । त्यसैगरी भारतीय पर्यटक पनि बढेका छन् । नेपाली पर्यटक अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी छन् । न्यूयोर्क टाइम्सले भ्रमण सूचीमा लुम्बिनीलाई राखेपछि लुम्बिनी आउने विदेशी पर्यटकको संख्या बढने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्