Logo

पछिल्लो ५ वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड कृषि अनुदान वितरण

कृषि अनुदान दुरुपयोग गर्नेको नामै आएन

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लिनेको नाम सार्वजनिक गरी दुरुपयोग गर्ने व्यक्ति वा फर्मलाई कारवाही गर्ने भन्दै आए पनि त्यो हल्लामात्र भएको छ ।

मन्त्री अधिकारीले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा कृषि अनुदान दुरुपयोग गर्ने व्यक्ति वा फर्मको नामै आएन । उनले पाँच वर्षयता कृषि मन्त्रालय अन्तर्गत सरकारले वितरण गरेको अनुदान रकममात्र सार्वजनिक गरेका छन् । प्रतिवेदनअनुसार कृषि अनुदानमा बाहिर दुरुपयोग भएका जेजस्ता हल्ला चले पनि अनुदान सबै सदुपयोग भएको देखाएको छ ।

अधिकारीले रासायनिक मलमा दिइने अनुदान, उखु कृषकलाई दिइने अनुदान, कृषि बीमामार्फत जाने अनुदान र केही परियोजनामा लगानी गरेको अनुदान समावेश भएको विवरण सार्वजनिक गरे । यी सबै अनुदान मन्त्रालय अन्तर्गतका सबै कार्यालयले पहिले नै सार्वजनिक गर्दै आएका थिए । मन्त्री अधिकारीले यी सबैलाई एकत्रित गरेको प्रतिवेदनमात्र सार्वजनिक गरेका हुन् । थप कुनै गहकिलो प्रतिवेदन सार्वजनिक भएन ।

सत्तासँग जोडिएका र कर्मचारीलाई रिझाउन सक्नेहरुले कृषि अनुदान दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । यसमा केही व्यावसायिक घरानाहरु पनि जोडिएको आरोप छ । कृषिमन्त्री बनेपछि अधिकारीले अनुदान दुरुपयोग गर्नेहरुको नाम सार्वजनिक गर्ने र कानुनी कारवाहीमा ल्याउने बताउँदै आएका थिए । तर, अहिलेको प्रतिवेदन अनुदान रकममा मात्र सीमित भएको छ । प्रतिवेदनमा दुरुपयोग गर्नेहरुको नाम आउन सकेको छैन । मन्त्री अधिकारीले गत भदौ ९ मा आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दा असोजभित्र नाम सार्वजनिक गर्छु भनेका थिए ।

मन्त्री अधिकारीले कृषि अनुदान वितरणमा जनगुनासो आएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी रहेको भन्दै वितरित अनुदानको विवरण सार्वजनिक गर्ने बताएका थिए । यसका लागि उनले कृषि मन्त्रालय वा अन्तर्गतका निकायबाट प्रदान गरिने सेवाका रुपमा रहेको अनुदानग्राहीको विवरण तयार गरी सार्वजनिकीकरण गर्न कात्तिक २ मा मन्त्रालयका सहसचिव हरिबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदन अधिकारीले आइतबार सार्वजनिक गरेका हुन् ।

प्रतिवदेनमा पछिल्लो पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड २७ लाख रुपैयाँ कृषि अनुदान वितरण भएको उल्लेख छ । आव २०७६–७७ देखि २०८०–८१ सम्म मन्त्रालय अन्तर्गतका कार्यालय वा निकायहरुले कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका लागि यो रकम प्रदान गरेका थिए । प्रतिवेदनअनुसार मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन् । प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले २० अर्ब ३० करोड ३० लाख रुपैयाँ लगेका छन् । अप्रत्यक्षतर्फ रासायनिक मललगायतमा ८७ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ अनुदान दिइएको छ ।

मन्त्री अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारवाही गर्ने भन्दै आम जनतालाई अनुदान रकमको प्रयोगका बारेमा जानकारी दिन आग्रह गरे । ‘कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारवाही हुन्छ र हुनुपर्छ । यो काममा तपाईंहरूको पनि साथ र सहयोगको अपेक्षा गरेको छु,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारलाई पनि कृषि अनुदान लैजाने संघसंस्था, सहकारी र व्यक्तिको नाम सार्वजनिक गर्न अपिल गर्छु ।’ मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश र स्थानीय सरकारबाट वितरित अनुदान रकम परेको छैन ।

मन्त्रालयले ५ आयोजनाहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि क्षेत्र विकास कार्यक्रम, नेपाल लाइभस्टक इनोभेसन आयोजना र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनालाई पनि अनुदान दिएको छ । यी परियोजनामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ६ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । यस्तै, रानी जमरा कुलरिया आयोजनाले १८ करोड ४८ लाख र कृषि क्षेत्र विकास कार्यक्रमले ८० करोड १९ लाख ६१ करोड रुपैयाँ अनुदान दिएको छ ।

लाइभस्टक इनोभेसन आयोजनाले एक अर्ब ९२ करोड ७५ लाख र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले एक अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ अनुदान वितरण गरेका छन् । प्रतिवेदनअनुसार उखु कृषक प्रोत्साहन अनुदानमा ४ अर्ब ७ करोड २४ लाख र कृषि बीमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार वितरण गरिएको छ । यस्तै, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख रुपैयाँ अनुदान दिइएको छ । समितिको अनुसन्धानले विगतमा फेजआउट भएका परियोजनामार्फत पनि अनुदान रकम प्रवाह भएको फेला पारेको छ । यसको विवरण चाँडै सार्वजनिक गरिने कृषिमन्त्री अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्