पर्यटनबाट जीडीपीमा ५ प्रतिशत योगदानको लक्ष्य

विराटनगर-निकै तामझामका साथ भ्रमण वर्ष सुरु गरेको प्रदेश–१ सरकारले आगामी ५ वर्षभित्र पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन ५ प्रतिशत पु-याउने लक्ष्य लिएको छ । भ्रमण वर्षभरी आन्तरिक र वाह्य गरी १० लाख पर्यटक प्रदेशमा भिœयाउने प्रदेश सरकारको योजना छ । जसमध्ये ५ लाख वाह्य पर्यटक आउने सरकारको दावी छ ।
जनवरी १ मा प्रदेश राजधानी विराटनगरमा ठूलै तामझामका साथ भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको थियो । हाल १.९३ प्रतिशत रहेकोमा कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्षमा २ प्रतिशत पुग्ने प्रदेश सरकारको अनुमान छ । “आगामी ५ वर्षभित्र पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन ५ प्रतिशत पु-याउने हाम्रो लक्ष्य छ,” उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियतले भने, “त्यसका लागि आधार तयार भइसकेको छ ।”
प्रदेश सरकारले अघि सारेका पर्यटनसम्बन्धी योजनाको अक्षरशः कार्यान्वयन गर्ने हो भने ५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन पु-याउन समस्या नहुने पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ बताउँछन् । सरकारले भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको सुझाव छ । प्रदेशमा थुप्रै स्तरीय होटल सञ्चालनमा आइसकेकाले गन्तव्यसम्म पुग्ने सडक, पुल र सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्नेमा उनले जोड दिए ।
पर्यटन क्षेत्रबाट हाल ३२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । चालू आव २०७६-७७ मा ३३ हजार १ सयले रोजगारी पाउँदा आगामी ५ वर्षभित्र ६४ हजार रोजगारी सिर्जना हुनेछ । आधार वर्षमा पर्यावरण अनुकूल पर्यटकीय गन्तव्य १३ रहेकोमा ५ वर्षमा ५० पुग्ने मन्त्रालयको दावी छ । पर्यटकस्तरको बेड हाल ६ हजार रहेकोमा चालू आवमा ६ हजार २ सय आगामी ५ वर्षमा ८ हजार ५ सय पुग्नेछ । आगामी ५ वर्षभित्र ५ वटा केवकार सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ । हाल प्रदेशमा एउटा पनि केबलकार छैन । आधार वर्षमा १० ट्रेकिङ ट्रेल रहेमा ५ वर्षभित्र त्यसलाई बढाएर २० पु-याइनेछ । हाल ४ वटा हिलस्टेसन रहेकोमा अबको ५ वर्षमा २५ पुग्ने बताइएको छ । अहिलेसम्म एउटा पनि नभएको थिमपार्क ५ वर्षमा ३ वटा पुग्नेछ ।
आगामी ५ वर्षमा हप्तामा १४ वटा माउन्टेन फ्लाइट सञ्चालन गर्ने गरी योजना अघि सारिएको छ । हालसम्म एउटा पनि माउन्टेन फ्लाइट हुन सकेको छैन । गत वर्ष परीक्षण फ्लाइट गरिए पनि त्यसले निरन्तरता पाउन सकेन । हाल सामुदायिक र निजी गरी ८६ वटा होमस्टे छन् । चालू आवमा बढाएर त्यसको संख्या ९६ पुग्ने र ५ वर्षमा १३६ पुग्ने पर्यटनमन्त्री जगदिशप्रसाद कुसियैतको दावी छ । हाल ८४ वटा कोशेली घर सञ्चालनमा छन् ।
पाँच वर्षमा १८४ पुग्नेछ स्थानीय उत्पादनको ब्राण्डिङ चालूमा १ छ भने ५ वर्षमा ५ पुग्नेछ । लक्ष्य पूरा गर्न सरकारले पर्यटनसम्बन्धी नीति, कानुन तथा मापदण्ड तर्जुमा गर्ने, संरचना तथा संस्थगत विकास गर्ने, पर्यटन गन्तव्य तथा पूर्वाधार विकास, हवाई सेवाको विस्तार, पर्यटकीय बस सेवा सञ्चालन, पर्यटकीय सम्पदाको संरक्षण नवनिर्माण र स्तरोन्नति, ट्रेकिङ ट्रेल निर्माण तथा सुधार, होमस्टे स्थापना, विकास तथा विस्तार,कोशेली घर सञ्चालन, स्थानीय उत्पादनको ब्राण्डिङ तथा प्रवद्र्धन, पर्यटकीय पार्क तथा परिपथ विकास, धार्मिक पर्यटन सर्किट, हिलस्टेसन विकास, महाभारत हरित कृषि पर्यटन क्षेत्र विकास, एक स्थानीय तह एक आकर्षक पर्यटकीय पूर्वाधार निर्माण, साहसिक पर्यटन सम्भाव्यता अध्ययन, हिमालय पदमार्गको निर्माणजस्ता कार्यक्रम सञ्चालन गरिने कुसियैतले बताए ।
प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले सुनाए । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा पर्दछ । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमा छन् । जसमध्ये आधा दर्जन प्रदेश–१ मै अवस्थित छन् । प्रदेशको तराईको समथर भूभागबाट समेत हिमाल हेर्न सकिन्छ । मौसम खुलेका बेला मोरङ, सुनसरी र झापाका समथर भूभागबाट समेत हिमाल देखिन्छ ।
संसारकै अग्ला हिमालहरूको धनी प्रदेश यही हुन सक्छ । नेपालभित्र प्रमाणित भएका ८ हजार मिटरभन्दा अग्लो उचाइका १४ शिखरमध्येको ११ वटा प्रदेश–१ मै पर्छन् । विश्वको उच्च शिखर सगरमाथा र तेस्रो शिखर कञ्चनजंघा पनि यही प्रदेशमा छन् ।भ्रमण वर्षका लागि नेपाल सरकारले पहिचान गरेका १ सय गन्तव्यमध्ये प्रदेश–१ मा १६ वटा गन्तव्य छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रदेशभित्रै परे पनि काठमाडौंले फाइदा लिने गरेको पर्यटन व्यवसायी पुण्य भट्टराईको भनाइ छ । “अब प्रदेशभित्रका गन्तव्यको फाइदा प्रदेशले नै लिनुपर्छ,” भट्टराईले थपे, “त्यसका लागि सरकारले नीतिगत र कानुनी व्यवस्था गर्नुपर्छ ।”