जनप्रतिनिधि र कर्मचारी भ्रमणले सेवा प्रभावित «

जनप्रतिनिधि र कर्मचारी भ्रमणले सेवा प्रभावित

पाँचथरको फिदिम नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अवलोकन भ्रमण भन्दै घुम्न निस्किएपछि कार्यालयको सेवा प्रभावित भएको छ । नगरपालिकाको पाँच लाख बजेटबाट कार्यालयका कर्मचारीसहित ४० जना जनप्रतिनिधिको टोली भ्रमणमा निस्किएपछि पाँच दिनदेखि फिदिम नगरपालिकाको काम ठप्प भएको हो ।
कार्यालयका मुख्य कर्मचारी र मेयर, उपमेयरसहितको टोली ५ दिनदेखि विभिन्न जिल्लामा भ्रमण गरिरहेका छन् । मंगलबार कार्यालयमा दर्ता चलानीमा कर्मचारी नभएपछि टेबलमा पत्र राखेर फर्किको युवा सुवाष तुम्बापोले बताए । “जनप्रतिनिधि आएपछि काम गर्न सहज होला भनेको फेरि उस्तै छ,” तुम्बापोले भने । फिदिम–२ का सागर ओझा दुईपटक नगरपालिकाको कार्यालयमा सिफारिसका लागि पुग्दा जनप्रतिनिधि भेट्न नसकेको बताए । फिदिम नगरपालिकाको चोकमागुको कुलो मर्मत उपभोक्ता समितिका अध्यक्ष श्रीध्वोज तुम्बापो पनि नगरपालिका धाएको तीनदिन हुँदासमेत कर्मचारी नभएका कारण आफ्नो काम नभएको बताए । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको जम्बो टोली कार्यालय नै रित्याएर भ्रमणमा निस्किएपछि फिदिम नगरपालिकाको काम ठप्प भएको हो । ४० जनाको टोली पाँच दिनअघि नै भ्रमणमा निस्किएको हो । नगरपालिकाको पाँच लाख बजेट सक्न कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा टोली भ्रमणमा निस्किएको हो ।
नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, उपमेयर उर्मिला श्रेष्ठ वडाध्यक्ष र मेयरका सल्लाहकार नगरपालिकाको बजेटबाट भ्रमणमा निस्किएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीसहित अन्य आठजना कर्मचारी पनि भ्रमणमा निस्किएपछि कार्यालयको काम ठप्प भएको छ । भ्रमण टोलीमा लेखा अधिकृत पेम्बा शेर्पा, इन्जिनियर दुर्गा दाहाल, नायब सुब्बा सुरेस सुवेदी, कम्प्युटर अपरेटर तुलारम रिमाल, अमिन दिपक खतिवडा, लेखा फाँटका शान्तिराम तिम्सिना र दुईजना कार्यालय सहयोगी भ्रमणमा जाँदा सबै काम ठप्प भएको नगरपालिकाका एक कर्मचारी बताउँछन् ।

दिपक बोहोरा 

प्रतिक्रिया दिनुहोस्