लामाखर्क–काठमाडौं समाजमा नयाँ नेतृत्व

काठमाडौं – लामाखर्क काठमाडौं समाजले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । समाजको शनिबार चोभारमा भएको वार्षिकोत्सवले सचिव र कोषाध्यक्षका प्रतिवेदनहरु पास गरेको छ । यस्तै वार्षिकोत्सवकै अवसरमा समाजले तेजप्रसाद ज्ञवालीको अध्यक्षमा नयाँ कार्य समिति पनि चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिननाथ ज्ञवाली, सचिवमा नारायण ज्ञवाली, सह–सचिवमा इश्वरी ज्ञवाली र कोषाध्यक्षमा टेकराज ज्ञवालीलाई चयन भएका छन् । यसैगरी समितिका सदस्यहरुमा भरतमणी ज्ञवाली, नागेन्द्र ज्ञवाली, ऋषिराम ज्ञवाली, भगवती खनाल ज्ञवाली, मिलन ज्ञवाली र होमनाथ ज्ञवालीलाई चयन गरिएको छ । ११ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
गुल्मी रुरुक्षेत्र गाउँपालिका–४ लामाखर्कबाट पेसा, व्यवसाय र अध्ययनका लागि काठमाडौंमा बसोबास गर्ने गुल्मेलीहरुले १५ वर्ष अगाडि काठमाडौंमा यो समाज स्थापना गरेका थिए । यसको उद्देश्य लामाखर्क र काठमाडौंबीचको सम्बन्धलाई जोडि राख्ने, आपसमा छलफल र भेटघाट गरी आएका समस्याको निदान गर्ने र सामाजिक क्षेत्रमा सक्दो योगदान गर्ने रहेको छ । आफ्नो १५ वर्षको अवधिमा समाजले विभिन्न किसिमका सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ ।
मुख्यगरी रुरुक्षेत्र–४ लामाखर्कको आर्थिक र सामाजिक विकासमा समाजका तर्फबाट र यसका सदस्यहरुले व्यक्तिगत रुपबाट सक्दो योगदान दिएका छन् । समाजले काठमाडौंमा प्रत्येक वर्ष बनभोज र चेलीबेटीका लागि तिजको गरी दुई वटा कार्यक्रम आयोजना गर्दै आएको छ । समाजले शनिबार पनि वार्षिकोत्सवसँगै वनभोज कार्यक्रम पनि आयोजना गरेको थियो ।